पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ ।
उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आउनुभएको छ भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसक्नुभएको छ । सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुग्नुभएको छ ।
यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो । प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।
नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ ।
औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ ।
त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ । प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ ।
कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको काउन्डाउन आज सकिएको छ । यसअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।
महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण पनि खेलको मिति पुनः सरेको थियो ।
आज हुने उद्घाटन समारोहलाई विशेष बनाउने गरी सबै किसिमको तयारी भएको नवौँ राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो ।
विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ । खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ ।
छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका अरु जिल्लामा गर्ने गरी तय भएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिनुभयो । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्