एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने योजना ‘पूर्णतः असम्भव’
युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजराइलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको शनिबार बताउनुभएको छ ।
इजराइलको इतिहासमा सबैभन्दा घातक हमलाको बदला लिन प्यालेस्टिनी इस्लामिस्ट सङ्गठनविरुद्ध अपेक्षित जमिन आक्रमण गर्नुअघि इजराइलले उत्तरी गाजाका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी दिएको छ ।
“युरोपेली युनियनको अधिकारीको प्रतिनिधित्व गर्दै यो (खाली गराउने योजना) कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको म भन्छु”, चीनको तीन दिने कूटनीतिक भ्रमणको अन्तिम दिन बेइजिङमा बोरेलले पत्रकारहरूसँग भन्नुभयो, “गाजा जस्तो परिस्थितिमा २४ घन्टाभित्र १०लाख मानिसलाई सार्न सकिन्छ भनेर कल्पना गर्नु मानवीय सङ्कट मात्र हुन सक्छ ।”
युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयेनले इजराइलको भ्रमणका क्रममा शुक्रबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समर्थन रहेको बताउनुभएको थियो ।
“युरोप इजराइलको पक्षमा उभिन्छ”, इजराइललाई आफ्ना नागरिकहरूको रक्षा गर्ने कर्तव्य थियो भन्दै उहाँले भन्नुभयो ।
तर आफ्नो रक्षा गर्ने प्रक्रियामा इजराइल पनि अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बाध्य हुन्छ भन्ने बेइजिङमा बोरेलको टिप्पणीले त्यस्तो पुष्टिमा सीमा निर्धारण गरेको देखिएको छ ।
“स्थिति स्पष्ट छ, हामी वास्तवमै आफ्नो रक्षा गर्ने इजराइलको अधिकारको रक्षा गर्छौँ”, बोरेलले भन्नुभयो, “तर कुनै पनि अधिकारको कुरा गर्दा यसमा सीमा हुन्छ र यो सीमा भनेको अन्तर्राष्ट्रिय कानून हो ।”
प्रतिक्रिया राख्नुहोस्