एन आर एन न्युज

एनआरएनए मलेसियाद्वारा एन्फालाई चेक हस्तान्तरण

गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले पूर्व घोषणा अनुसार अखिल नेपाल फुटबल संघ एन्फालाई चेक हस्तान्तरण गरेको छ ।

असोज १२ गतेको सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार एनसीसी मलेसियाका महासचिव टिकाराम अधिकारीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमा एन्फा उपाध्यक्ष दावा लामाले पछिल्लो विपत्तिबाट नेपाली फुटबलले ठूलो क्षति भोगेको बताउँदै विपद्को बेलामा सहयोग गरेको एनसीसी मलेसियालाई सधैं सम्झिने बताए ।

एनसीसी मलेसियाका महासचिव टिकाराम अधिकारीले सिस्नेरी पहिरोका कारण ६ जना खेलाडीको निधन भएपछि कोषाध्यक्ष बालध्वज लिम्बूको पहलमा सहयोग रकम जुटाएर जनही १ लाख रुपैयाँ दिने निर्णय अनुसार एन्फालाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बताए ।

एन्फा अध्यक्ष नेम्वाङले निधन भएका खेलाडीहरुको स्मृतिमा अक्षय कोष खडा भएको र उक्त रकम त्यसमा जम्मा गर्ने प्रतिवद्धता जनाउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा एनसीसी मलेसियाका निवर्तमान अध्यक्ष विनोद कुमार थापासहित एन्फाका अन्य पदाधिकारीको पनि उपस्थिीति रहेको थियो । मकवानपुरको सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।

इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा परी वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो ।

उक्त घटनामा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.