राजनीति

सिमरा सेजमा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा सेज (विशेष आर्थिक क्षेत्र)मा उपलब्ध हुने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

सिमरा सेजसँग सम्बन्धित विषयमा जनप्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक अगुवा एवं स्थानीयसँगको शनिबार सिमरामा भएको छलफलमा मन्त्री रिजालले सेजभित्र बारा, पर्सा जिल्लावासीलाई रोजगारीमा पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सेजभित्र कुनै प्रकारको विरोध तथा आन्दोलन नगर्न सुझाव दिँदै सेजमा आउने उद्योगी व्यवसायीलाई सुविधा उपलब्ध गराइने बताउनुभयो ।

सो अवसरमा बारा निर्वाचन क्षेत्र नं ४ का सांसद किसान श्रेष्ठले सेजभित्रको जग्गा उद्योगीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो । “सेजभित्र उद्योगीले रोकेर राखेको जग्गा पनि फिर्ता हुने अवस्था आएको छ, त्यसैले जग्गाकोे भाडा निःशुल्क र उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई ३० प्रतिशतमा झार्नुपर्छ”, उहाँले भन्नुभयो ।

जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले सेजसम्मको पहुँचका लागि पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगनज–डाइपोर्ट सडकसँग जोड्ने छ लेनको सडकलाई जोडेर कम्तीमा ४० मिटर चौडाइको फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रमेशप्रसाद निरौला, सेजका कार्यकारी निर्देशक चण्डिका भट्ट, जीतपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेल, वडाअध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयको सहभागिता थियो ।

हाल सेजको ‘ए ब्लक’को तीन सय ४३ बिघामध्ये एक सय ६० बिघा रहेका ६८ वटा प्लटमा नौवटा प्लटबाहेकका जग्गा उद्योगीले ‘बुक’ गरेका छन् । सेजभित्र जग्गा भाडामा लिन चाहने उद्योगीले प्रतिवर्गमिटर रु २० का दरले तिर्नुपर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.