भ्रष्टाचारको प्रमुख कारक अदूरदर्शिता, राजनीतिक दल, नेता र कर्मचारीतन्त्र
नेपाल विश्वमा अत्यधिक भ्रष्टाचार देशको माथिल्लो सूचीमा रहँदैआएको छ । भ्रष्टाचार निवारणको नाममा राजनीतिक शक्ति आर्जनको खेती मात्र हुने गरेका कारण मुलुकमा चरम बेथिति बढिरहेको छ ।
अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्रका कारण नेपालमा भ्रष्टाचार बढिरहेको एक अध्ययनले पनि देखाएको छ ।
शनिबार अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकांक्षालाई भ्रष्टाचारको कारण उल्लेख गरेको छ ।
प्रतिवेदनमा नीतिगत कमजोरी, कर्मचारीतन्त्रको ढिला सुस्ती, अख्तियारवालाको गैरजिम्मेवारीपन, ढिलो न्याय, अनुचित राजनीतिक नियुक्ति, कमजोर विधिको शासन, सांस्कृतिक प्रभाव र नागरिक जागरुकताको कमीलाई पनि भ्रष्टाचारका स्रोतका रूपमा उल्लेख गरिएको छ ।
फाउण्डेसनले अध्ययनलाई ‘राजनीति र भ्रष्टाचार’ र ‘सरकार र भ्रष्टाचार’ गरी दुई भागमा विभाजन गरेको छ । एक हजार जनामा गरिएको उक्त अध्ययनमा बहुसङ्ख्यक उत्तरदाताले राजनीतिक दलले चुनावी घोषणापत्र कार्यान्वयन नगरेको बताएको पाइएको छ ।
अध्ययन प्रतिवेदनमा ७१ दशमलव दुई प्रतिशत उत्तरदाताले राजनीतिक दलले चुनावी घोषणापत्र लागू नगरेको तथा ७१ प्रतिशतले राजनीतिक नेताको व्यवहार र कार्यशैलीलाई उपयुक्त नमानेको उल्लेख छ ।
साथै ७१ दशमलव सात प्रतिशतले राजनीतिक नेता भ्रष्टाचारमा मुछिएको, ६३ दशमलव सात प्रतिशतले राजनीतिक पार्टीसमेत भ्रष्टाचारमा मुछिएको, ७० दशमलव आठ प्रतिशतले राजनीतिक दल र नेताले समाजमा अपराधको संरक्षण गरेको र ८९ दशमलव एक प्रतिशतले राजनीतिक दलमा रुपान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।
भ्रष्टाचारसम्बन्धी अनुभवजन्य नागरिक धारणा सर्वेक्षण, विगतका अध्ययन प्रतिवेदन र तथ्याङ्कको समीक्षा र विश्लेषण तथा सरोकारवालासँगको छलफल र अन्तरक्रियालाई अध्ययन विधिका रूपमा अवलम्बन गरिएको छ । अध्ययन प्रतिवेदनको नतिजाले तीनै तहका सरकार र नागरिकलाई भ्रष्टाचारविरुद्ध गम्भीर बनाउन सहयोग पुग्ने फाउन्डेसनको दाबी छ ।
प्रतिवेदनले भ्रष्टाचारले मुलुक आक्रान्त भइरहको अहिलेको समयमा राजनीतिक पार्टीको अग्रगामी रुपान्तरण, लोकतान्त्रिक गणतन्त्रको थप सवलीकरण र सूचना–प्रविधिको अनिवार्य प्रयोगमार्फत् सुशासन मजबुद गर्न सके मुलुक विकास तथा राजनीति र राज्यप्रति नागरिक विश्वासमा बढोत्तरी हुने निष्कर्ष निकालेको छ ।
अध्ययनका संयोजक डा जनकराज साहले नेपालमा भ्रष्टाचारको प्रतिबिम्ब कस्तो छ भन्ने सन्दर्भमा जनता, सरोकारवालाको आवाजलाई सरकार समक्ष पुर्याउन प्रतिवेदनले सहयोग पुग्ने बताउनुभयो ।
फाउन्डेसनका अध्यक्ष प्रकाश विकल्पले खोज अनुसन्धानकै लागि फाउन्डेसन स्थापित भए पनि मुलुकको आवश्यकताअनुसार भ्रष्टाचारसम्बन्धी तथ्याङ्क र धारणलाई प्रकाश पारेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्