दैनिक खाद्यान्न वस्तुको सेवा दिने ‘तेतो तेतो’ एप सञ्चालनमा
जापानमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरु सहज रुपमा प्राप्त गर्न एक किनमेल एप्लिकेसन सञ्चालन गरिएको छ ।
जापानमा नेपाली लगायत बिभिन्न समुदायलाई किनमेल गर्न सहजता प्रदान गर्ने उद्देश्यले तेतो तेतो (teto teto) एप सञ्चालनमा ल्याइएको हो ।
आइतबार जापानमा पत्रकार सम्मेलन गरेर एप मार्फत जापानको जुनसुकै स्थानमा पनि नेपालि खाद्यान्न सामाग्री अनलाईन मार्फत किनमेल गर्न सकिने कम्पनीका कार्यकारी निर्देशक तोरु मियाजावाले जानकारी दिनुभयो ।
साविक आशा बजार नामबाट सञ्चालित एपलाई थप व्यवस्थित र आवश्यक सम्पुर्ण सामानलाई एकत्रित गर्दै सहज तरिकाले किनमेल गर्न सकिने गरी नयाँ रुपमा सञ्चालन गरिएको हो ।
एममार्फत सामान खरीद गर्दा ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार क्रेडिट कार्ड, कम्बिनियल स्टोर्स, नगदमा रकम भुक्तान गर्नसक्ने आशिस मानान्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार तेतो तेतो मार्फत जापानमा सञ्चालित विभिन्न हलाल फुडको सामानको गुणस्तर तथा मुल्य तुलना गरी किनमेल गर्न सकिने छ ।
एपका साथै नेपाली समुदायलाई सहजता प्रदान गर्नका लागि जापानबाट नेपाल फर्केकाहरुको पेन्सन रकम फिर्ता सम्बन्धी सहयोग समेत गर्ने माया ओगासावाराले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनको सञ्चालन प्रिया श्रेष्ठले गर्नुभएको थियो भने जापानमा उपलब्ध नेपाली सञ्चारमाध्यमका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्