खेल

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि सरकारको स्वीकृति

कोरोना भाइरस संक्रमण बढेसंगै विश्वकप छनोटको तयारीमा बिराम लगेको नेपालको राष्ट्रिय फुटबल टोलीले बंगलादेशसंग मैत्रीपूर्ण फुटबल खेल्न स्वीकृति पाएको छ । उक्त खेल सम्भव भएमा नेपाली टिमका लागि त्यो प्रतिस्पर्धा कोरोना भाइरसको महामारी फैलिएयताकै पहिलो हुनेछ ।

राष्ट्रिय टिमको प्रशिक्षण दसैंपछि सुरु गर्ने एन्फाले जनाएको छ । गत महिना एन्फाले प्रशिक्षणलाई खेलाडी बोलाएपनि विश्वकप छनोटका खेल फेरि स्थगित भएपछि खेलाडीलाई घर फर्काएको थियो । कोरोना संक्रमण तीव्र भएपछि फुटबल गतिविधि ठप्प भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषदले नेपाली राष्ट्रिय टिमलाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि शुक्रबार स्वीकृति दिएको जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईले विश्वकप छनोटका खेलको तयारीमा बंगलादेशले नेपालसँग दुई म्याच खेल्न प्रस्ताव गरेकोमा त्यसका लागि नेपाली टिमलाई खेलाउन परिषदले स्वीकृति दिएको जनाउनुभयो ।

फिफाले अन्तर्राष्ट्रिय खेलका लागि नोभेम्बर ११ देखि १९ को अवधि तोकिदिएको छ र त्यही अवधिमा मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल महासंघले एन्फासँग प्रस्ताव गरेको हो ।

खेलको मिति र आयोजनास्थल निश्चित नभैसके पनि बंगलादेशले उसकै भूमिमा खेल्न प्रस्ताव गरेकाले दुवै खेल उतै हुनसक्ने प्रवक्ता राईले बताउनुभयो ।

विश्वकप २०२२ एसियन कप २०२३ छनोटमा नेपालले १९ नोभेम्बर २०१९ मा घरेलु खेलको रुपमा थिम्पूमा कुवेतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । त्यसमा खाडी मुलुकले १–० को जित हात पारेको थियो । प्रवक्ता राईका अनुसार नेपाली टिमसँग मैत्रीपूर्ण खेलका लागि मंगोलिया र डोमिनिकन रिपब्लिकले पनि प्रस्ताव गरेका थिए । तर, ती दुई देशसाग खेल्नेबारे कुनै निर्णय गरिएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.