ह्यान्डसम भिलेन अनुपको चलचित्र अनुभव- ‘हिरो र भिलेनभन्दा चरित्र महत्वपूर्ण’
नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ ।
अनुप विक्रम शाही, प्रशान्त ताम्राकारलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उहाँहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रुचाउनुभयो ।
“अहिले सहजै कलाकार मान्नुहुन्छ । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे”, अभिनेता अनुप विक्रम शाहीले भन्नुभयो । ‘हँसिया’ फिल्ममा उहाँले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो ।
त्यसयता उहाँले सकारात्मक भूमिका कमै निर्वाह गर्नुभएको छ । मोडलिङ हुँदै अभिनेता बन्नुभएका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्नुहुन्छ ।
‘ऐश्वर्य’ मा निर्वाह गर्नुभएको भूमिकापश्चात् उहाँलाई त्यस्तै अफर भइरहेको छ । “मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे ।
यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ”, अभिनेता ताम्राकारले भन्नुभयो । काठमाडौँमा आयोजित उहाँहरू (अनुप, प्रशान्त) अभिनित फिल्म ‘लाखे’ को पत्रकार सम्मेलनमा आर्यन अधिकारीले सोचाइमा आएको परिवर्तन बारे बताउनुभयो ।
“हिरोकै रुपमा काम गरिरहेको छु । अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु । म कलाकार हुँ । सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु”, अभिनेता अधिकारीले भन्नुभयो ।
दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन् । सस्पेन्स थ्रीलर जनराको फिल्म ‘लाखे’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्