जन सरोकार

खम्बा गाडेको चार वर्षपछि बल्यो बिजुली

म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा खम्बा गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।

आठविसकोटको दुर्गमबस्तीमा विद्युत् पुग्यो

नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न विसं २०७४ मा काम सुरु गरेको थियो । विसं २०७६ मा खम्बा गाडिएको थियो ।

सोही योजनाअनुसार उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिनुभयो । “खम्बा गाडेको चार वर्षपछि गत शनिबारदेखि केन्द्रीय लाइनको बिजुली बाल्ने सपना पूरा भएको छ”, उहाँले भन्नुभयो, “खम्बा गाड्न र तार तान्न बाँकी रहेकाले दुखुका अझै ५० घरमा बिजुली बल्न बाँकी छ ।”

बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताउनुभयो । दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव ५ किलोवाट क्षमताको दुखुखोला लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे ।

नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाको समयका लागि विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एशियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ ।

केन्द्रका इञ्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताउनुभयो । खम्बा गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि दुखुका बाँकी घरधुरीमा बिजुली बाल्ने योजना रहेको उहाँले बताउनुभयो ।

म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन् । गत आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले हालै रु २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको छ ।

भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गर्ने तयारी भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.