अर्थ

तीन महिनामा आम्दानीभन्दा पौने खर्ब रुपैयाँ बढी खर्च

सरकारले खर्चको अनुपातमा राजश्व संकलन गर्न नसक्दा चालू आर्थिक वर्षको सुरुदेखि नै घाटामा कुदिरहेको छ । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो तीन महिनाबाटै सरकारको आम्दानीलाई खर्चले उछिनेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठेको छ भने यसै अवधिमा ३ खर्ब २९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।

यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ भने १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ ।

यसबीचमा चालु खर्च २ खर्ब २९ अर्ब भएको छ । यो लक्ष्यको २०.१५ प्रतिशत हो । यस वर्ष ११ खर्ब ४० अर्ब रुपैयाँ चालु खर्च हुने अनुमान रहेको छ ।

पूँजीगत खर्च भने २९ अर्ब ३७ करोड रुपैयाँ बराबर भएको छ । यो लक्ष्यको ८.३४ प्रतिशत हो । कार्यालयका अनुसार यस वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य रहेको छ ।

वित्तीय व्यवस्थामा भने सरकारकाले तीन महिनामै ६९ अर्ब ९७ करोड खर्च गरिसकेको छ । यसको ठूलो हिस्सा आन्तरिक ऋणको साँवा तिर्न खर्च हुने गरेको छ । वित्तीय व्यवस्थाको प्रगति लक्ष्यको १९.०५ प्रतिशत हो ।

यस वर्ष सरकारले ३ खर्ब ६७ अर्ब रुपैयाँ बराबर वित्तीय व्यवस्थामा खर्च गर्ने लक्ष्य सरकारको छ । आम्दानीभन्दा खर्च माथि जान थालेसँगै सरकारले पहिलो महिनाबाटै ऋण काढेर खर्च व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.