जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

चितवन, धनुषा र सोलुखुम्बुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो । साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटना हुँदा हाइसमा सवार तेह्रथुम आठराई गाउँपालिका-२ बस्ने ४९ वर्षीय बासु देब गौतमको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित सडकमा पैयाबाट खरिखोलातर्फ जाँदै गरेको प्र १-०७-००१ त ००१८ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-७ गुन्सा बस्ने २४ वर्षीय मिङमा दावा शेर्पाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको खरिखोला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.