जल/वातावरण

कार्तिकमै हिउँदे वर्षा र हिमपातको सम्भावना

मनसुन सकिएर भरखरै मात्र विदा भएको नेपालमा कार्तिक महिनामै हिउँदे वर्षा हुने भएको छ भने हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुको पहिलो झड्काले नै यस वर्ष झन्डै एक साता वर्षा गराउने भएको छ ।

यसपाला भने मनसुनको बहिर्गमनसँगै पश्चिमी वायुले सुरुवाती चरणमै आफ्नो सक्रियता देखाउँदै एक साता लामो वर्षा गराउने भएको हो । यसका साथै हिउँदको सङ्केत गर्दै छिट्टै उच्च हिमाली भेगमा हिमपातसमेत गराउने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनका अनुसार पश्चिमी वायुसँगै यतिबेला नेपालमा अन्य दुई मौसमी प्रणालीको प्रभाव पनि परेको छ । जसअनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखा, मध्य प्रदेशको तेलङ्गनामा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको वर्षा प्रणालीको गहिरो असर नेपालमा देखिएको हो ।

यही अवसर छोप्दै पश्चिमी वायुले पूर्वीय वायुलाई पूर्णतया विस्थापित गरिसकेकाले अब देशभर आफ्नो प्रभाव जमाउने प्रयत्न गरिरहेको छ । योसँगै पोस्ट मनसुनको सक्रियता र हिउँदे वर्षाको आगमनको सङ्केत दिएको छ ।

तीनवटै मौसम प्रणालीका कारण शनिबार रातिदेखि नै देशका अधिकांश स्थानमा बदली सुरु भएको छ । केही स्थानमा वर्षा सुरु भइसकेको छ । यो क्रम झन्डै साताभर कायम रहने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार र मङ्गलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायतका पश्चिमी भेगमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मङ्गलबारदेखि प्रदेश १ का धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने आकलन गरिएको छ ।

बुधबारदेखि प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । साथै नेपालका उच्च हिमाली भेगमा हिमपातको बलियो सम्भावना रहेको छ ।

मौसमविद् बासीका अनुसार बिहीबारदेखि मौसममा सुधार हुनेछ । तथापि देशका केही भेगमा हल्का वर्षा भने अझै केही दिन कायम रहने अनुमान गरिएको छ ।

चाडबाडको समय रहेको अवस्थामा देखिएको मौसमी बदलावले जनजीवनमा असर पार्न सक्ने भएकाले मौसमको जानकारी लिएर मात्र यात्रा गर्न मौसम पूर्वानुमान महाशाखाले सुझाएको छ । मध्यम तथा भारी वर्षा हुने इलाकामा बाढी तथा पहिरो जान सक्ने भएकाले थप सतर्कता अपनाउन पनि भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.