कर्पोरेट/पर्यटन

लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती, मन्थलीका होटल र होमस्टेलाई फाइदा

लुक्लामा मौसम खराब भएपछि एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन् । लुक्लाहुँदै सगरमाथालगायतका क्षेत्रमा पदयात्रा तथा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै त्यसतर्फ जाने गरेका छन् ।

लुक्लामा हवाई उडान प्रभावित

काठमाडौँलगायतका विभिन्न स्थानबाट मन्थली आइपुगेका पर्यटकहरु लुक्लाको मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिएका हुन् ।

मौसममा सुधार नआएपछि केही पर्यटक भने अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटक सडकमार्गबाट सोलुखुम्बुतर्फ लागेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन् ।

सोलुखुम्बुको खुम्बु क्षेत्रको मौसम खराब हुँदा सोमबारदेखि मन्थली लुक्ला नियमति उडान हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाइँले जानकारी दिनुभयो ।

“सोमबारदेखि यहाँ पर्यटक रोकिएका छन्, बुधबार केही उडान भएपनि त्यसयता फेरि उडान प्रभावित भएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार बिहीबार मात्रै विभिन्न कम्पनीका हेलिकप्टहरुले २८ वटा उडानमार्फत एक सय ३५ पर्यटकलाई सोलुको फाप्लु तथा सुर्के पुर्याएका थिए ।  नियमित उडान नहुँदा मन्थलीमा एक हजार तीन सयभन्दा बढी पर्यटकहरु रोकिएका छन् ।

हवाई उडान प्रभावित हुँदा दैनिकजसो मन्थलीमा पर्यटक बढिरहेकाले होटलमा समेत रुम पाउन मुस्किल भइसकेको जनाइएको छ । हाल मन्थलीका होटलसँगै यहाँका होमस्टे पनि पर्यटकले भरिभराउ भएको होटल तथा पर्यटक व्यवसायी सङ्घले जनाएको छ ।

शरद ऋतु पर्यटकका लागि उपयुक्त समय भएका कारण  यस बेला रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमण गर्ने पर्यटक बढेका छन् ।

नागरिक उडययन प्राधिकरण रामेछापका कार्यालय प्रमुख हिरोण शाहले अनुकुल मौसम भएका समयमा मन्थली विमानस्थलबाट दैनिक ५५ वटासम्म उडान हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार बुधबार विमान कम्पनीका विमानले १८ वटा उडानमार्फत तीन सयभन्दा बढी पर्यटकलाई मन्थलीबाट लुक्ला पुर्याउने र लुक्लामा रोकिएकालाई मन्थली ल्याएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.