बैंकहरुबीच ब्याज बढाउने होडबाजी
ब्याजदर वृद्धिले अर्थतन्त्रमा नकारात्मक असर, महँगी बढाउँछ, रोजगारी घटाउँछ
मुलुकको आर्थिक अवस्थाको पछिल्लो चित्र वाणिज्य बैंकहरुले निक्षेपमा ब्याज बढाउने प्रतिस्पर्धाले नै देखाउँछ । मुलुकका २७ वाणिज्य बैंकमध्ये १७ वटाले ब्याज बढाएका छन् । कार्तिक १ गतेदेखि लागू हुने गरी एकवर्षे मुद्दतीको ब्याज १० प्रतिशतभन्दा बढी छ ।
आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुले कर्जा प्रवाह गरेको तुलनामा निक्षेप संकलन न्यून छ । झण्डै दुई खर्ब रुपैयाँ कर्जा वितरण गरेका बैंकहरुले निक्षेप भने५४ अर्ब मात्र संकलन गर्न सकेका छन् ।
बैंकहरुमा रकम अभाव देखिएको छ । निक्षेप आकर्षित गर्न कायम निक्षेपकर्तालाई रोक्न पनि उनीहरुले ब्याज बढाएका हुन् । अहिले बैंकहरुबीच निक्षेपकर्ता आफूतिर तान्ने प्रतिस्पर्धा नै चलेको छ ।
रोकिएका सरकारी भुक्तानी हुने, दसैं र तिहारका कारण रेमिट्यान्स बढ्ने, चाडपर्वमा उपभोग खर्च बढ्नेलगायत कारण वित्तीय प्रणाली निक्षेप बढ्ने अनुमान थियो । केही मात्रामा निक्षेप बढे पनि अपेक्षाकृत बढ्न सकेन ।
पछिल्ला ६ महिना (जेठदेखि कात्तिकसम्म) मा तरलता, आयात र कर्जा प्रवाहको अवस्था हेर्दा थपिने निक्षेपले तरलता सहज होला भन्नेमा बैंकहरू आश्वस्त हुने अवस्था छैन । यही कारण अपवादबाहेक धेरैजसो बैंकले नयाँ ब्याजदर प्रकाशन गरिसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
निक्षेपमा डेढदेखि २ प्रतिशत ब्याजदर बढ्दा कर्जाको ब्याजदर २ देखि ३ प्रतिशत बढ्छ, यसो हुँदा आश्चर्य मान्नु हुँदैन । केही बैंकले गत भदौ र केहीले असोजदेखि नै ब्याज बढाइसकेका छन् ।
ब्याजदर बढ्दा उत्पादन लागत बढ्ने भएकाले बजारमा मूल्यवृद्धि हुन्छ । नयाँ लगानी निरुत्साहित हुन्छ । करिब दुई वर्षसम्म कोभिडले ग्रसित अर्थतन्त्र विस्तारै तंग्रिन थालेको बेला ब्याजदर वृद्धिले झनै समस्या पर्ने आँकलन गरिएको छ ।
बैंकहरूबीच निक्षेप खोसाखोस चल्न थालेपछि आइतबार वाणिज्य बैंकहरूको छाता संगठन बैंकर्स संघको बैठक बसेको थियो । बैठकमा ब्याजदर वृद्धिमा अस्वस्थ प्रतिस्पर्धा नगरौं, निक्षेपको ब्याजदर एक अंक (१० प्रतिशतभन्दा कम) मै राखौं भन्ने विषयमा छलफल भएको थियो । सोही छलफलका आधारमा संघले बैंकहरूलाई पत्र पनि पठाएको थियो । तर, आइतबार आधा दर्जनभन्दा धेरै बैंकले ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याए ।
ब्याजदर बढ्न थालेपछि यसको प्रभाव समग्र अर्थतन्त्रमा पर्नेछ । भर्खर तंग्रिन थालेको उद्योग व्यवसाय पुनः थला पर्न सक्ने उद्योगी व्यवसायीको गुनासो छ । निक्षेपको ब्याज बढ्दा बैंकको खर्च बढ्छ । खर्च बढ्दा आधार दर बढ्छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ । यसकारण आफूहरूलाई समस्या परेको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको भनाइ छ ।
कोरोनाले थला परेको अर्थतन्त्र केही चलायमान हुँदै गर्दा ब्याजदरका कारण फेरि समस्यामा पर्न सक्ने देखिन्छ । उद्योगहरू विस्तारै चल्न थालेका छन्, सेयर बजार घट्दो छ । यस्तो बेला ब्याजदर वृद्धिले अर्थतन्त्रमा राम्रो गर्दैन । महँगी बढाउँछ, रोजगारी घटाउँछ ।
प्रतिक्रिया राख्नुहोस्