राजनीति

“चारदशक अघि गरीब समुदायले पनि पर्याप्त माछाभात खान्थे” : पूर्व राष्ट्रपति डा. यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले तराई मधेसलाई समृद्ध बनाउन चुरे विनाश रोक्नुपर्ने बताउँदै चार दशकअघिको अवस्थाको स्मरण गर्नुभएको छ ।

सप्तरीको राजविराजमा कर्मवीर योद्धा खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा उहाँले चार दशकअघिसम्म अन्न धान, चामल निर्यात गर्ने अवस्थामा रहेका गरिब समुदायका मानिसले पनि पर्याप्त माछा खान पाउँथे भन्दै अहिलेको अवस्थाको कारण खोज्न आग्रह गर्नुभयो ।

उहाँले अन्नको भण्डार रहेको तराई मधेस मरुभूमि हुनबाट जोगाउन चुरे जङ्गल विनाशलाई रोक्नु अति आवश्यक रहेको बताउँदै उपरोक्त दृष्टान्त दिनुभएको हो ।

नेपालको तराई मधेसमा धेरै अन्न फल्ने भएकाले यहाँ नदी नाला र सिँचाइ सुविधा पुगेमा समृद्ध नेपाल बन्न सक्ने बताउँदै उहाँले जलवायु परिर्वतन र वातावरण अनुकुलताका कारण अहिले तराईमा पानीको सतह घट्दै गएको बताउनुभयो ।

दैनिक चुरे विनाशले गर्दा ठाउँ–ठाउँमा पानीको अभाव देखिएका कारण चुरे जोगाउन सबै नागरिक सचेत बन्नुपर्नेमा डा यादवको जोड थियो ।

“चार दशकअघिसम्म अन्न धान, चामल निर्यात गर्ने अवस्थामा हामी थियौँ, गरिब समुदायका मानिसले पनि पर्याप्त माछा खान पाउँथे, सागसब्जीको अभाव थिएन”, उहाँले भन्नुभयो ।

संविधानसभाबाट नयाँ संविधान बन्नु, समानुपातिक समावेशिताको ग्यारेन्टी हुनु ठूलो उपलब्धि रहे पनि त्यसअनुसारको सुधार आउन अझै बाँकी नै रहेको डा यादवलले बताउनुभयो ।

तराई–मधेसमा व्याप्त दाइजो प्रथा, आवश्यकभन्दा अनावश्यक कुरामा बढी खर्च गर्ने प्रवृत्ति अझै कायम रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा डा यादवले अभिनन्दित व्यक्तित्व खुशीलाल मण्डल र आफू प्रजातन्त्रका लागि सँगसँगै काम गरेको स्मरण गर्नुभयो ।

पूर्वनिर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले अभिनन्दित मण्डलमा विश्लेषण गर्ने अद्भूत क्षमता रहेको बताउनुभयो । मण्डल लोकतन्त्रप्रति समर्पित योद्धा हुनुभएकाले उहाँको सम्मान सार्थक रहेकामा कार्यक्रमका वक्ताको एकमत थियोे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.