एन आर एन न्युज

एनआरएनए अध्यक्ष पदमा महेश श्रेष्ठलाई रबिना थापाको समर्थन

गैरआवासीय नेपाली संघको वर्तमान अध्यक्ष रबिना थापाले भावी अध्यक्षका लाग उम्मेदवारी दिएका महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघलाई एकताबद्ध गर्नकै लागि अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्ने घोषणा गरेको जानकारी दिएकी छिन् ।

थापाले वर्तमान उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकतावद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सारेकाले त्यसको स्वागत र समर्थन गरेको बताएकी छन्।

थापाले विज्ञप्तिमा भनेकी छिन्, संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु।

थापाले अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीलाई मतदान गरी विजयी बनाउन सम्पूर्ण सहभागीलाई आग्रह गरेकी छिन् ।

२०२१–२०२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकाल पनि चलाउने वाचा गर्दै उम्मेदवारी दिने बताएकी थिइन्।

अघिल्लो कार्यकाल भागवण्डामा सकिएका कारण पुनः उम्मेदवारी दिने तयारीमा रहेकी थापाले अध्यक्षका उम्मेदवार श्रेष्ठ र उनको टिमसँग सघन वार्तापछि उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन् ।

रबिना थापाको विज्ञप्ति

गैर आवासीय नेपाली संघ (एनआरएनए) को हाल जारी ११ औं महाधिवेशनमा मैले संघलाई एकताबद्ध गर्दै यस अघि पुरा हुन बांकी एजेन्डाहरु पुरा गर्ने उद्देश्य सहित पुन: २०२३-२५ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी थिएँ। अहिले पनि संघमा समेटिन नसकेका श्री बिनोद कुँवरले नेतृत्व गर्नु भएका साथीहरुलाई समेटेर संघलाई अगाडी बढाउन मैले जोड दिंदै आएको सबै साथीहरुलाई अवगत नै छ। २०२१-२३ कार्यकालका उपाध्यक्ष तथा हाल अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठले आफु निर्वाचित भएको तीन महिना भित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सार्नु भएकोले म त्यसलाई स्वागत र समर्थन गर्दछु।

संसारभरि रहेका गैर आवासीय नेपाली साथीहरुले फोन तथा विभिन्न माध्यमबाट मलाई सम्पर्क गरी अहिलेको अवस्थामा गैरआवासीय नेपाली संघलाई एकतावद्ध गराउन पहल लिन सुझाव दिंदै आउनु भएको छ। विषम परिस्थितिमा पनि २०२१-२३ कार्यकालमा हामीलाई दिइएको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्‍यौं। यही कार्यकालमा गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आएको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा प्रवासमा कार्यरत तीन लाख भन्दा बढी नेपालीहरु आबद्ध भै सक्नु भएको छ।

संघमा मैले उठाउंदै आएको युवा तथा महिलालाई संघभित्र अग्रस्थान दिने कार्य योजनालाइ अध्यक्ष पदका उम्मेदवार महेशजीले प्राथमिकताका साथ अगाडी बढाउने वचन दिनुभएको छ। अन्तरराष्ट्रिय स्तरमा ग्लोबल फन्ड निर्माण गर्ने, गैर आवासीय नेपाली सम्बन्धी मन्त्रालय स्थापनाका लागि पहल गर्ने, सातै प्रदेशमा स्मार्ट शौचालय निर्माण गर्ने, वंशजको नेपाली नागरिकता निरन्तरताका लागि उच्च राजनीतिक स्तरमा पहल गर्ने लगायत शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने मेरा एजेन्डाहरुलाई उहाँले आगामी कार्यकालमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

उहाँ र उहाँले नेतृत्व गर्नु भएको टिमले स्थापनाको २० वर्ष पुरा गरेको संघलाई आगामी दशकका लागि स्पष्ट कार्ययोजनासहित अगाडि बढाउने मैले विश्वास लिएकी छु। संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु। साथै, अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीहरुलाई मतदान गरी विजयी बनाउनु हुन पनि सम्पूर्ण डेलिगेट्स मित्रहरुलाई आग्रह गर्दछु। धन्यवाद ।

रबिना थापा
अध्यक्ष, एनआरएनए आइसीसी (२०२१-२०२३)
मिति: १८ अक्टोबर २०२३

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.