राजनीति

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्ड

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग शनिबार आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सन् २०१९ मा चीनबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले सीमा नाका प्रभावकारी रूपमा सञ्चालन, रेलमार्ग निर्माण प्रक्रिया अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्यका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताउनुभयो ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर यहाँ आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

पहिलोपटक नेपाल भ्रमणमा आउनुभएका उहाँले चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएकाले सोहीअनुसार सरकार र पार्टीहरूबीचको सम्बन्धलाई महत्व दिने गरेको उल्लेख गर्नुभयो ।

भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट सेक्रेटरी छेन्, नेपालस्थित चिनियाँ राजदूत छेन् सोङ्गलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.