बेमौसमी वर्षाका कारण सात अर्बको धान र सडकमा एक अर्ब बढीको क्षति
मनसुन सकिएर हिउँद लाग्ने बेला अनि देश नै दशैंमा झुमिरहेका बेला भएको बेमौसमी वर्षाका कारण मुलकभर ७ अर्ब बढीको धानखेती क्षति भएको छ । त्यस्तै बाढी र पहिरोले राजमार्गहरुमा एक अर्ब ५ करोडको क्षति भएको छ ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा महानिर्देशक थापाले भन्नुभयो कात्तिक १ गतेयता परेको बेमौसमी वर्षाका कारण सडकमा भएको कुल भौतिक क्षतिको प्रारम्भिक अनुमान १ अर्ब ५ करोड आएको छ । यो अनुमान प्रारम्भिक हो, पूर्ण विवरण आउन बाँकी छ ।
बेमौसमी वर्षाले १८ वटा राजमार्गका २४४ ठाउँमा बन्द भएको र तीमध्ये अझै केही खुल्न बाँकी रहेको थापाको भनाइ थियो । मनाङ, बाजुरा, बझाङलगायतका राजमार्ग अझै अवरुद्ध छ ।
अबको दुई–तीन दिनमा मनाङ खुल्ने अवस्थामा छ । बझाङमा अवरुद्ध सडक खुल्न अझै समय लाग्ने अवस्था रहेको थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्