विश्व समाचार

रुस भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा युक्रेनमा शान्तिको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको ब्रिक्स नेताहरूको बैठकमा युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को आह्वान गर्नुभएको छ ।

महासचिव गुटेरेस

उहाँ पुटिनले किएभमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभएको केही हप्तापछि सन् २०२२ अप्रिलयता पहिलो पटक रुसमा हुनुहुन्थ्यो ।

“हामीलाई युक्रेनमा शान्ति चाहिन्छ । संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, अन्तर्राष्ट्रिय कानून र महासभाका प्रस्तावहरू अनुरूप न्यायपूर्ण शान्ति”, गुटेरेसले ब्रिक्स नेताहरूको गोलमेच बैठकमा भन्नुभयो ।

उहाँले मध्यपूर्वमा पनि शान्तिको आह्वान गर्दै गाजामा ‘तत्काल युद्धविराम’ र लेबनानमा ‘तत्काल शत्रुताको अन्त्य’ हुनुपर्ने बताउनुभयो ।

“विश्वव्यापी चुनौतीहरूको सामना गर्न विश्व परिवारका रूपमा काम गर्ने राष्ट्रहरूको समुदाय चाहिन्छ” महासचिव गुटेरेसले आफ्नो प्रारम्भिक टिप्पणीमा भन्नुभयो ।

उहाँले आफ्नो कुरा सकेपछि पुटिनले कठोर जवाफ दिनुभयो । “महासचिव महोदयले हामी सबै एउटै ठूलो परिवारका रूपमा बस्नुपर्छ भन्नुभयो, परिवारमा दुर्भाग्यवश प्रायः झगडा, स्क्यान्डल, सम्पत्तिको बाँडफाँट र कहिलेकाहीँ लडाइँ पनि हुन्छन्”, उहाँले मुस्कुराउँदै भन्नुभयो, “ब्रिक्सको लक्ष्य आवश्यक अन्तरक्रियाका संयन्त्रहरू सिर्जना गर्नु र साझा घरमा अनुकूल वातावरण सिर्जना गर्नु हो ।”

युक्रेनले पुटिनलाई ‘अपराधी’ भन्दै गुटेरेसको रुस भ्रमणको निर्णयको निन्दा गरेको थियो । महासचिव गुटेरेसले बिहीबार पुटिनसँग द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ । वार्तामा उहाँले युक्रेनबारे आफ्नो अडान दोहो¥याउनुहुने उहाँका प्रवक्ताले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.