कृषि

इलाममा फस्टाउँदै प्याजखेती

पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् ।

सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय केजी) प्याज उत्पादन गर्नुभयो । “प्रतिमन रु दुई हजारका दरले ६० मन बिक्री गरेँ, आफूलाई खान र छरछिमेक, आफन्तकोमा कोसेली पुर्याउँदा पाँच मनजति सकियो”, पराजुलीले भन्नुभयो ।

गाउँपालिकाको ५० प्रतिशत सहयोगमा पिआई–१७२ जातको दुई सय ग्राम बीउ रोपण गर्नुभएका पराजुलीले रु एक लाख २५ हजारको प्याज बिक्री गर्नुभएको छ ।

“जम्मा रु ३२ हजार खर्च कटाएर खुद रु ९३ हजार बचत भयो । नयाँ हाइब्रिट जातको प्याज लगाउँदा यहाँको माटोमा फस्टाउने रहेछ”, उहाँले भन्नुभयो, “लोकल जातका प्याज त तीन वर्षअघि नै सय मन फलाएको थिएँ । त्यो बेला समयमा बजार पुर्याउन सकिएन, भण्डारण व्यवस्थापन गर्न नसक्दा कुहिएर घाटा भयो । अहिलेचाहिँ बजारको समस्या छैन । बाटो राम्रो छ घरमै पनि आउँछन् व्यापारी ।”

जिल्लामा एक सय १५ हेक्टर जमिनमा प्याजखेती हुने गरेको कृषि ज्ञान केन्द्रसँग तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार आठ सय ७४ मेट्रिक टन प्याज उत्पादन भएकामा आव २०८०/८१ मा एक सय मेट्रिक टन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले जानकारी दिनुभयो ।

सन्दकपुर–३ कै अर्का किसान विष्णु खनालले १९ मन र माइजोगमाई गाउँपालिका–३ का किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाउनुभएको छ ।

“रु ७० प्रतिकिलोका दरले बिक्री गरेँ । बाँदरले अन्य खेती र तरकारीसमेत नष्ट गरेकाले यो वर्ष प्याज अलि बढी रोपियो, उत्पादन पनि राम्रो भयो”, सुवेदीले भन्नुभयो, “प्याजमा मेहनत गर्ने हो भने यसको बजार र आम्दानी राम्रै हुनेरहेछ ।”

प्याजको राम्रो उत्पादनका लागि ६० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि प्राविधिक प्रभु शाहले बताउनुभयो । “प्याजको वृद्धि विकासका लागि १३ देखि २५ डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक हुन्छ, पानी नजम्ने र प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो उपयुक्त हुन्छ, माटोमा पिएच ५ दशमलव ८ देखि ६ दशमलव ५ हुनुपर्दछ”, शाहले भन्नुभयो ।

सूर्योदयका अगुवा किसान मदन राईले प्याज रोप्नुअघि जमिनको तयारी राम्रो गर्नुपर्ने अनुभव सुनाउनुभयो । “खनजोत गहिरो, डल्ला फुटाउने, झार जिलाउने, माटो मसिनो र बुरबुराउँदो बनाउनुपर्ने रहेछ ।

राम्ररी पाकेको गोेबर मलको प्रयोग राम्रो हुँदोरहेछ, एक दिन अगाडि नै बीउलाई पानीमा भिजाएर उमार्नुपर्छ । नर्सरीमा राम्रोसँग उम्रेका बिरुवा ८–१० हप्तामा रोप्नलायक हुन्छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.