“शीर्ष नेतालाई भोट नगरौं भन्न नपाइने भए अहिले नै विजयी घोषणा गरौं”
नेपालको सत्ता राजनीतिमा केही सीमित व्यक्तिहरुको हालिमुहाली भैरहँदा देश विकास नभएको आम जनताको विश्लेषण भैरहँदा विकल्पको खोजी समेत हुन थालेको छ ।
कतिपय स्थानमा शीर्ष तहका नेताहरुलाई भोट नगरौं, उनीहरुलाई विश्राम दिंदै नयाँ र युवा पुस्तालाई अघि सारौ भन्ने आवाज सामाजिक संजालहरुमा उठिरहेको छ ।
केही दिनयता ‘No Not Again’, ‘NO NOT AGAIN’ र ‘No Not again’ लगायतका फेसबुक पेज र समूहबाट भोट नगर्न आव्हान गर्दै सामग्रीहरु सम्प्रेषण हुँदै आएका छन् ।
यसबीचमा निर्वाचन आयोगले शीर्ष नेताहरुलाई मत नदिऔं, उनीहरुलाई हराउँ भन्दै सामािजक संजालबाट सम्प्रेषण भए कारबाही गर्ने भनेपछि यसको आलोचना हुन थालेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी विभिन्न नामका फेसबुक पेज र ग्रुपबाट भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्यदृश्य सामग्री प्रकाशन भएकोले तत्काल बन्द गर्न निर्देशन दिंदै यी पेजबाट बन्द नगरे विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने चेतावनी समेत दिइएको छ ।
आयोगको यो विज्ञप्तिपछि नेकपा एमालेका नेता भीम रावलले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्दै आक्रोश पोख्नुभएको छ । उहाँले ट्वीट गर्दै शीर्ष नेताका बिरुद्धमा बोल्न नपाइने हो भने अहिले नै उनीहरुलाई विजयी घोषणा गर्न सुझाव दिनुभएको छ ।
उहाँको ट्वीट यस्तो छ- “कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ ।”
प्रतिक्रिया राख्नुहोस्