क्रिकेटखेल

एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको तेस्रो जित, नेदरल्यान्ड्स ३०९ रनले पराजित 

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेदरल्यान्ड्सलाई ३ सय ९ रनको फराकिलो अन्तरले पराजित गर्दै अस्ट्रेलियाले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

अस्ट्रेलियाको तेस्रो जित

अस्ट्रेलियाको यो जित एकदिवसीय विश्वकपमा सबैभन्दा ठूलो रन अन्तरको जित हो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले पराजित गरेको थियो । दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ग्ले म्याम्सवेलले ४४ बलमा नौ चौका र आठ छक्काको मद्दतमा १ सय ६ रन शतकीय पारी खेले भने ओपनर डेविड वार्नरले ९३ बलमा ११ चौका र तीन छक्काको मद्दतमा १ सय ४ रनको शतकीय इनिङ्ग खेले । म्याक्सवेलले सबैभन्दा कम बलमा विश्वकपमा शतक बनाउने कीर्तिमान कायम गरेका छन् । उनले जारी विश्वकपमा दक्षिण अफ्रिकाका एडेन मार्क्ररमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

त्यस्तै स्टिभ स्मिथले ७१ र मार्नुस लाबुसेनले ६२ रनको अर्धशतकीय पारी खेल्दा जोश इङ्लिसले १४ र कप्तान प्याट कमिन्स १२ रनमा अविजित रहे । नेदरल्यान्ड्सका लागि लोगन भा बिकले चार, बास डि लिडेले दुई र आर्यन दत्तले एक विकेट लिए । अस्ट्रेलियाले प्रस्तुत गरेको ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा ९० रनमै समेटियो ।

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले २५ रन बनाए भने तेजा निदामानुरुले १४ रन जोड्दा कप्तान स्टक एड्वार्डस १२ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, मिचेल मार्शले दुई तथा जोश हेजलउड, मिचेल स्टार्च र प्याट कमिन्सले समान एक विकेट लिए ।

जितसँगै अस्ट्रेलिया पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने समान खेलमा दुई अंक जोडेको नेदरल्यान्ड्स पुछारमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.