जन सरोकार

तिहार सकियो, छठ नजिकियो, डोम समुदायलाई भ्याइनभ्याई

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसंगै तेस्रो ठूलो चाडका रुपमा रहेको र तराईबासीका महानपर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बनाउने डोम समुदायलाई अहिले भ्याइनभ्याई भएको छ ।

सुङ्गुर डोर्याएर वर्षैभरी गाउँ–गाउँ चहार्ने तथा गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मेहम्मे पर्ने गरेको महोत्तरीका डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरी आफ्ना जीवनका हरेक दुःख बिर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त भएको महोत्तरी जिल्लाका औरही नगरपालिका–६ की ६० वर्षीया तेतरीदेवी डोमिनले बताउनुभयो ।

जिल्लाको विभिन्न गाउँ, शहरमा हुने भोजभत्तेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नाना थरीका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ५५ वर्षीया देवकीदेवी डोमिनले बताउनुभयो ।

डालो बुन्दै गरेकी जिल्लाको भङ्गहा नगरपालिकाकी ६५ वर्षीया दानादेवी डोमिनले गहभरी आँशु लिएर भनिन्, “मालिक ! कात्तिक लाग्ने बितिक्कै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गलो र टालु टपरी बनाउनमा तल्लीन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निक्कै खुशी हुन्छौँ ।” तर वर्षभरी काम नचल्नाले फेरि केही दिनपछि दुःख थपिन्छ ।

छठ मनाउने प्रत्येक तराई बासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अध्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुडा किन्नुपर्दछ ।

छठ पर्वको आगमनसँगै डोमका घरका आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै गौशाला नगरपालिकाका ५५ वर्षीय शिवजी डोमले आफू सोही कारण दिनरात ब्रतालुको निम्ति बाँसका भाडा बनाउने गरेको सुनाउनुभयो ।

त्यस्तै जिल्ला सदरमुकाम जलेश्वरका ईन्दल डोमले डालो, नाङ्गलो र टालु टपरी बेचेर कात्तिकमा वर्षभरीकै सबै कर्जा चुक्ता गरेर आउने छौँ महिनाको खर्चबर्चको जोहो गर्न जति कमाई हुने गरेको बताउनुभयो ।

जिल्लाको एकडारा गाउँपालिकाका महिन्दर डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्गलो बेचेर प्रतिव्यक्ति २० देखि ३० हजार र प्रत्येक परिवारले दुई/तीन लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

अहिले जिल्लाको गाउँगाउँमा डोम जातीका प्रत्येक घरमा बाँस र बेंतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेंतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् ।

दिनदिनै छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुडा पुर्याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याई छ ।

एकातिर डोम समुदायलाई बेंत र बाँसका सामग्री बनाउन भ्याइनभ्याई छ भने अर्कोतिर जिल्लाका बजारमा बाँसका भाँडाकुडा किनबेच गर्न पनि व्रतालुको ठूलो भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.