मलेरिया उन्मुलन गर्न सहकार्य आवश्यक : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिया पूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
दक्षिण पूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) को आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण पूर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिनुभएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘मलेरिया उन्मुलन सबैको साझा अजेण्डा हो । एक देशको प्रयासले मात्र दक्षिण पूर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिदैन । यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ ।’ खुला सिमाना र बसाईसराईका कारण पनि मलेरिया उन्मुलन चुनौतिपूर्ण भएको उल्लेख गर्नुहँदै मन्त्री बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिण पूर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिने बताउनुभयो ।
मलेरिया उन्मुलनका साथै स्वास्थ्यका अन्य नीति र कानून बनाउने सर्वोच्च निकाय संसद भएकाले विभिन्न देशका सांसदहरुबीच हुने अनुभव आदान प्रदान र छलफलले यो क्षेत्रबाट मलेरिया उन्मुलनका लागि महत्वपूर्ण भूमिका खेल्ने भनाइ राख्नुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले दक्षिण पूर्व एशियाका ११ वटै देशको दृढ सहकार्य भएको अवस्थामा सन् २०३० सम्म यो क्षेत्रबाट मलेरिया उन्मुलन गरिछाड्ने बताउनुभयो । विगत ५० वर्षदेखि मलेरिया उन्मुलनको क्षेत्रमा लागेको भएपनि पूर्ण सफलता पाउन नसकेको तर आउँदो छ वर्षमा भने त्यो सफलता प्राप्त गरिनेमा डा। पोखरेलले जोड दिनुभयो ।
शनिबारसम्म चल्ने बैठकलाई सम्बोधन गर्दै दक्षिण पूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) का कार्यकारी सचिव डा। जिग्मी सिङ्गे, भारतको पश्चिम बङ्गालका मन्त्री गुलाम रब्बानी, बङ्गलादेशका सांसद प्रा।डा।मोहम्मद अब्दुल अजिज, नेपालका सांसद छविलाल विश्वकर्मा, तान्जेनियाका स्वास्थ्य अधिकारकर्मी डा। मेलानिए रेन्स र इसिमोडका महानिर्देशक डा। पेमा लगायतले मलेरिया उन्मुलनका लागि आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समन्वय महाशाखाका निर्देशक डा. चुमनलाल दासले दक्षिण पूर्वी एशियाका देशबाट मलेरिया उन्मुलनका लागि बैठक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्