प्रधानमन्त्री ओलीलाई रोबोर्टले नमस्ते गर्दै हात मिलाउँदा
नेपालमा पहिलोपटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)का विषयमा अन्तर्राष्ट्रिय सम्मेलन अहिले चलिरहेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले रोबोर्टसंग नमस्ते फर्काएर र हात मिलाएर सम्मेलनको उदघाटन गर्नुभयो ।
नेपालमा एआईको प्रयोग बढिरहँदा सर्वसाधारणलाई जानकारी दिने र सरकारलाई स्पष्ट नीति तर्जुमा गर्न सघाउने उद्देश्यसहित दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
आइतबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजना गरिएको सम्मेलनमा नेपाली र विदेशी गरी करिब एक हजारजना सहभागी रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलन ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने र सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
सङ्घका अध्यक्ष क्षितिज थेबेले नेपालमा पहिलो एआई सम्मेलन हुन लागेको छ । यसबाट सरकार तथा युवावर्गलाई एआईका सम्बन्धमा जानकारी गराउने बताउँदै सूचना प्रविधिका क्षेत्रमा पनि नेपाललाई अगाडि बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिनुभयो ।
विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने सङ्घका महासचिव सुमन पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरुले समेत सहभागिता जनाउने छन् । युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्