युवा नीतिमा एनआरएनका विषयलाई समेट्न सरकार प्रतिबद्ध : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ ।
एनआरएनए वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचाैँ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तिकरणलाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदैछ । तपाईहरूको केही कुरा राख्न सकिन्छ ।”
मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रहि फरक–फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता तथा पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताउनुभयो ।
“डायस्पोराले उद्यमशीलता, स्थानीय अर्थतन्त्रको विकासमा पनि मद्दत पुर्याउन सक्छ । यसका लागि राज्यले सहज लगानीको वातावरण, कर छुट तथा नागरिकताको सहज व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
भाषा, संस्कृति, उत्पादन, पर्यटन प्रवर्द्ध्न, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा अनुभव तथा सीप प्रयोग गर्न सकिने मन्त्री चौधरीको भनाइ थियो ।
कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता पदम गिरीले नयाँ पुस्तालाई राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस् योजना जरूरी रहेको बताउनुभयो । यसमा विलम्बन नगरी छिटो नीति ल्याउनुपर्नेमा यहाँले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्