राजनीति

पूर्व एमाले र पूर्व माओवादीको धङधङीले निम्त्याएको हत्याकाण्ड

पर्सामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेताले नेकपाकै स्थानीय नेता–कार्यकर्ताको कुटाइबाट ज्यान गुमाए । एउटै पार्टी भए पनि पूर्व एमाले र पूर्व माओवादीको धङधङी कायमै रहँदा यो हत्या भएकोमा कसैको विमती छैन ।

घटनाक्रमले पनि त्यस्तै दखाउँछ । पर्सा जिल्लाको नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटपछि गम्भीर घाइते नेकपा पर्सा, विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाको कात्तिक ७ गते मृत्यु भएको थियो । मृतक पूर्व माओवादी हुन् ।

प्रहरीले चौरसिया हत्याको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाए पनि यसबाट परिवार, आफन्त तथा नेकपा पर्सा सन्तुष्ट छैन । चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन भैरहेको छ ।

बुधबारा नेकपा पर्साको आयोजनामा मुरलीबगैँचास्थित रातोबङ्गला अगाडिबाट निकालिएको विरोध जुलूसले नगरका विभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर चौरसियाको हत्यारालाई कारवाहीको माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा विन्दवासनी गाउँपालिका अध्यक्ष विक्रम चौरसियाले प्रजिअ आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई पाँचबुदे मागसहितको ज्ञापनपत्र बुझाउनुभयो । अध्यक्ष चौरसियाले बुझाएको ज्ञापनपत्रमा चौरसियाको परिवारले दिएको किटानी जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्नुपर्ने, चौरसियालाई शहीद घोषणा गरी आश्रित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, झडपमा परी घाइते भएकाको निःशुल्क उपचार गर्नुपर्ने र पीडित परिवारले दिएको किटानी जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ ।

परिवारले दिएको किटानी जाहेरी दर्ता नभएसम्म चौरसियाको शव नबुझ्ने अडानका कारण पाँच दिनदेखि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.