जन सरोकार

संरक्षणको प्रतीक्षामा रामायण भवन

आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको प्रतिक्षामा रहेको छ । रामायण भवनको संरक्षण नहुँदा भवन जीर्ण बन्न थालेको छ ।

भवनका झ्याल तथा ढोकामा क्षति पुर्‍याइएको छ भने संरक्षण नहुँदा काठ धमिराले धुल्याउन थालेको छ । रामायण भवनको संरक्षणका लागि पटक–पटक आवाज उठाउँदा सुनुवाइ नभएको स्थानीय सन्देश आचार्यले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यसबारे बारम्बार सवाल उठाइरहँदा पनि सम्बन्धित निकायहरू कहिँ कतैबाट संरक्षणमा चासो देखाएको पाइँदैन । भानुभक्त आचार्य यस क्षेत्रमा जन्मिदिएर सबैलाई चुलोचौको गर्न सजिलो भयो । उनकै नाउँमा राजनीति गर्न पाइयो । उनकै नाउँमा कमाई खान पाइयो ।” नेपाली भाषाको एकीकरण र विकासमा भानुभक्तको योगदान सबैका लागि मार्गदर्शक रहेको बताउँदै उहाँले भन्नुभयो, “भानुभक्तले लगाएको गुनको पैँचो हामीले कहिले तिर्ने हो ?”

जङ्गलको बीचमा रहेको रामायण भवन नजिक बेला–बेलामा आगलागी भइरहन्छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिँदै आएका छन् । स्थानीयवासी महेश आचार्यले डढेलो लाग्दा दिनरात नभनी आगो नियन्त्रणमा आफूहरु खटिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो तर्फबाट संरक्षण गरिरहेका छौँ तर सम्बन्धित र सरोकार सङ्घसंस्थाको भने चासो नभइदिँदा समस्या भइरहेको छ ।”

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जङ्गलको बीचमा भएकाले केही समस्या भए पनि आफूहरु यसको संरक्षणमा जुटिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “संरक्षण नै नभएको भन्ने होइन । जन्मस्थल समिति लागि रहेको छ । सिसी क्यामरा जडान र तारबारको पनि व्यवस्था गर्दैछौँ ।”

रानाभाटका अनुसार यही ठाउँमा मङ्सिरदेखि भानुगृहको निर्माण सुरु हुँदैछ । पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको काम सुरु गर्न लागेको हो । “त्यसपछि यो ठाउँ अझ व्यवस्थित हुन्छ । पानी र बत्तीको व्यवस्था भइसकेको छ”, उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा एकीकृत पर्यटन पूर्वाधार विकासअन्तर्गत रामायण भवन निर्माण गरिएको छ । आचार्यको जन्मस्थल शिखर कटेरी चुँदी रम्घाको जन्मघर खण्डहर बन्दै गएपछि भानु जन्मस्थल विकास समितिले भानु शिखर कटेरी गुरुयोजना बनाएर भानुको जन्मस्थलको संरक्षणकोे काममा चासो देखाएको थियो ।

रानाभाटका अनुसार रु तीन करोड लागतमा भवन निर्माण गरिएको हो । समितिले दश रोपनी क्षेत्रफलभित्र भानु गृह, सङ्ग्रहालय, अतिथि गृहलगायत निर्माण गर्ने लक्ष्य राखे पनि काम हुन सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.