जन सरोकार

त्रिशुलीमा सुन खोज्न बोटेहरूको लर्को

दशैं मनाउँदा लागेको ऋण तिर्न तनहुँ व्यास–१० कोमलटारीका धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । उनीहरु आइतबार बिहानैबाट सुन खोज्ने काममा लागेका छन् ।

शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भन्नुभयो, “दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो, त्यही ऋण खर्च जुटाउन यता आएको हुँ ।”

पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताउनुभयो । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ ।

यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिनुभयो ।

सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ ।

घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुग्नुभएका कमल बोटेले बताउनुभयो । बालुवा चाल्ने क्रममा महिनाको करिब रु २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिनुभयो ।

घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताउनुभयो । करिब ४५/५० दिन सुन चालेर घर फर्किने गरेको उहाँको भनाइ छ ।

“अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु”, उहाँले भन्नुभयो, “माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै रु २५÷३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।”

पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ । सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाउनुभयो । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.