भर्जिनियाको हेमार्केटमा अक्टोबरको अन्तिम आइतबार कुकुर तिहार घोषणा
अमेरिकाको डिसी क्षेत्रको हेमार्केट भर्जिनियामा पहिलो पटक कुकुर तिहार मनाइएको छ । अब हरेक वर्षको अक्टोबर महिनाको अन्तिम आइतबार कुकुर तिहार मनाइने घोषणा गरिएको छ ।
गत अक्टोबर २७ का दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म हेमार्केट भर्जिनियामा आयोजना कुकुर तिहार कार्यक्रममा डिसी, मेरिल्याण्ड र भर्जिनिया क्षेत्रका दर्जनौ दर्जन कुकुरहरु ल्याइएको थियो ।
उक्त उत्सवमा करिव २०० जना जतिले सहभागिता जनाएका थिए । कार्यक्रममा कुकुरलाई सम्मान गर्ने हेतुले रातो गलैचा जस्तै प्लास्टिकको लामो कपडा ओछ्याई कुकुरहरुलाई त्यहाँ हिडाइएको थियो ।
कुकुरहरुलाई अमेरिकामा दिईने खाना दिनुको साथै पत्तचकन्या तथा स्वयमसेवकहरुले टीका तथा सयपत्रीको जस्तै प्लास्टिकको माला लगाइदिएका थिए ।
विदेशी पाहुनाहरु पनि हर्षित हुँदै सहभागिता जनाएका थिए । उनीहरुले पनि कुकुरहरु ल्याएका थिए । उनीहरुले आयोजकलाई धन्यबाद दिनुको साथै खुसी व्यक्त गरेका थिए ।
त्यस क्षेत्रमा समाजसेवी जीवन तिवारीले हरेक वर्ष अक्टोबर महिनाको अन्तिम आइतबारलाई अमेरिकामा कुकुर तिहार दिवसका रूपमा मनाउने प्रस्ताव राख्दै सबै कुकुर प्रेमीहरू र मालिकहरुलाई उत्सवमा सहभागी हुन स्वागत गर्नुभयो ।
छोटो मन्तब्यको क्रममा उहाँले भन्नुभयो, “आज तपाईहरू सबै संयुक्तराज्य अमेरिकामा कुकुर तिहारका संस्थापक हुनुभयो । एक दिन कसलाई के थाहा ? हामीले कुकुर तिहार संग्रहालय पनि यहाँ देख्न सक्छौं । आजको ५० बर्षमा हाम्रा सन्ततीले हामीलाई सम्झने छन् ।
पहिलो कुकुर तिहार कार्यक्रमले अमेरिकामा एउटा नयाँ परम्परा स्थापित गरेको छ । तिवारीले अगाडी भन्नुभयो, यो चाड उत्सवभन्दा बढी हो । अमेरिकामा कुकुर उत्सव नेपालले मनाउने भन्दा अगाडी मनाइएको हो । अमेरिकामा बिदाको दिनको साइत बनाएर पहिलो पटक कार्यक्रम गर्ने हुँदा नेपाल भन्दा अगाडी नै मनाइएको छ ।
नेपालमा कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।
प्रतिक्रिया राख्नुहोस्