राजनीति

बालुवाटार प्रदर्शनमा रास्वपा नेताहरुले उठाए धनराज र ऋषिकेशका मुद्दा

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा प्रहरीले २ कात्तिकमा पक्राउ गरेर पोखरा पुर्‍याएपछि रास्वपाका नेता कार्यकर्ता निरन्तर बिरोध प्रदर्शनमा छन् ।

रास्वपाका नेताहरुले पोखरा पुगेर लगातार बिरोध गरे पनि त्यसपछि काठमाडौं केन्द्रित प्रदर्शन गरेका छन् । माइतीघरमा दुई दिन र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेटमा एक दिन विरोध गरेपछि रास्वपाले आज मंगलबार बालुवाटारलाई प्रदर्शनस्थलका रुपमा रोज्यो ।

प्रहरीले रास्वपाले निर्धारित गरेको स्थानमा प्रदर्शन गर्न दिएन । भाटभटेनी मन्दिर नजिक पिपलबोटबाट रास्वपा कार्यकर्तालाई अघि बढ्न दिएन । प्रदर्शनकारीलाई बालुवाटारतर्फ अघि बढ्न नदिन ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

प्रहरीले रोकेकै स्थानमा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गर्न थाले । रास्वपाका कार्यकर्ताहरु देशको झण्डा बोकेर विरोधमा उत्रिएका थिए । पार्टीको झण्डा लिएर प्रदर्शन नगर्ने निर्देशन अनुसार राष्ट्रिय झण्डा सहित कार्यकर्ता सहभागी बने ।

मध्यान्ह १२ बजेबाट प्रदर्शन गर्ने गरी नेता कार्यकर्ता नेपाल हाउस वरपर जम्मा हुँदै गर्दा प्रहरीले पक्राउ गर्न थाल्यो । कार्यवाहक सहप्रवक्ता मनिष झाका अनुसार १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

‘प्रहरीहरुको कार्य नेपालको संविधान, कानुन लगायत अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको छ’, विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौं ।’

बालुवाटार प्रदर्शनमा रास्वपाका नेताहरुको नारा बदलिएको छ । यसअघि राजनीतिक प्रतिशोधका विरुद्ध भन्दै आन्दोलन गर्दै आएको रास्वपाले मंगलबारको सडक प्रदर्शनलाई अधिनायकवाद विरुद्ध भएको वृहत प्रदर्शन भनेको छ ।

उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार राजनीतिक प्रतिशोध, सहकारी बचत अपचलन, भ्रष्टाचार, युवा बेरोजगारी र संविधानको पुनर्लेखन लगायतका मुद्दाका लागि प्रदर्शन राखिएको बताउँदै वर्तमान सत्ताधारी ८८ अर्ब अपचलन गर्नेतर्फ नलागेर अंशमा लागेको दावी गर्नुभयो ।

सहकारी प्रकरणमा कांग्रेस सभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान नगर्नु र आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गर्नु सत्ताको प्रतिशोध भएको उपसभापति डा. स्वर्णिम वाग्लेले बताउनुभयो ।

अर्का उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारी पीडितको वचत फिर्ता गर्ने आधार रास्वपाले दिने दाबी गर्दै संसदीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरे अनुसार सहकारी प्राधिकरण गठन गर्न माग गर्नुभयो ।

केन्द्रीय सदस्य एवं सांसद सोविता गौतमले सभापति लामिछाने माथि झुटो मुद्दा लगाएको दाबी गर्दै निशर्त रिहा गर्न माग गर्दै सरकार राणा कालिन अवस्थामा फर्कन लागेको आरोप लगाउनुभयो ।

अर्का सांसद सुमना श्रेष्ठले शान्तिपूर्ण आन्दोलन गर्ने नागरिकको अधिकार उपयोग गर्न सत्ताले नदिएको बताउँदै रास्वपालाई थकाउन, तर्साउन, कमजोर बनाउन सरकार लागेपनि त्यसको प्रतिकार गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.