राजनीति

पहिलेका प्रतिस्पर्धी सारथी, सारथी बनेका प्रतिस्पर्धी

भनिन्छ राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । निर्वाचनका बेला तालमेलदेखि गठबन्धनसम्म गरिरहेका राजनीतिक दलहरूभित्र कुन बेला को शत्रु र को मित्र हुने भन्ने यकिन हुँदैन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा यस्तै अवस्था छ ।

बिना मगर

मुलुक निर्वाचनमय बनेका बेला कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्री) की नेतृ एवं पूर्वमन्त्री वीना मगर चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजारभन्दा बढी मतले पराजित गर्नुभएको थियो । उहाँ लगत्तै खानेपानीमन्त्री बन्नुभयो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भने अघिल्लो निर्वाचनमा पराजित तिनै विष्ट मगरको सारथी बन्नुभएको छ ।

कांग्रेस नेता विष्टले २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा मगरलाई झिनो मतान्तरले पराजित गर्नुभएको थियो । दोस्रो पटकको प्रयासमा उहाँ निर्वाचित हुनुभएको हो ।

विसं २०७४ को निर्वाचनमा भने नेकपा (एमाले) का तत्कालीन जिल्ला अध्यक्ष तारालामा तामाङ मगरको मुख्य सारथी हुनुहुन्थ्यो । तर यसपटकको निर्वाचनमा भने तिनै तामाङसित मगरले मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

पाँच दलीय गठबन्धनले क्षेत्र नं १ मा मगरलाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ । एमालेले भने सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तामाङलाई चुनावी मैदानमा उतारेको छ ।

एमाले फुट्दा नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्नुभएका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीसमेत बन्नुभयो । उहाँलाई केही महिनाअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा आयोजित कार्यक्रममा पार्टीमा फर्काउनुभएको हो ।

यसअघि २०७४ सालमा भएको कम्युनिष्ट गठबन्धनमा मगरले प्रतिनिधिसभा सदस्यमा जित्दा तामाङ भने सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । आसन्न निर्वाचनमा कांग्रेस नेता विष्ट निर्वाचन क्षेत्र नं १ ‘ख’ बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवार हुनुहुन्छ ।

कांग्रेसको साथ पाउनुभएकी मगर जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदानमा हुनुहुन्छ । एमाले उम्मेदवार तामाङ पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा होमिनुभएको छ । पार्टीको टिकट वितरणबाट असन्तुष्ट बन्नुभएका एमालेका पुराना नेता खेम सुवेदी उक्त निर्वाचन क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवार बन्नुभएको छ ।

माछा चुनाव चिह्नका साथ निर्वाचनमा होमिनुभएका सुवेदीले एमालेको भोट बढी ल्याउनेआकलन गरिएको छ । त्यो अवस्थामा तामाङलाई जित्न असहज हुने एमालेका एक स्थानीय नेताले बताउनुभयो । चार पालिका रहेको निर्वाचन क्षेत्र नं १ मा दुई पालिकामा कांग्रेस र एक÷एक पालिकामा माओवादी केन्द्र र एमाले विजयी भएका थिए ।

कांग्रेसका पूराना नेता गोपाल गुरुङमाओवादी केन्द्र र कांग्रेसको मिलनले गठबन्धनका उम्मेदवारलाई फाइदा पुग्नेमा विश्वस्त हुनुहुन्छ । अघिल्लो निर्वाचनमा प्रदेशसभामा एमालेनेता तामाङसित पराजित हुनुभएका नेता गुरुङले गठबन्धनलाई सहज तथा अन्यलाई जित्न सकस हुने दाबी गर्नुहुन्छ ।

एमालेबाट निर्वाचन क्षेत्र नं १ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवाररहनुभएका एमाले जिल्ला सचिव पल्लवराज भट्ट भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँचदलीय गठबन्धनभन्दा एमाले उम्मेदवार बलियो अवस्थामा रहेको दाबी गर्नुहुन्छ । “दुवैमा एमालेउम्मेदवारको जित सुनिश्चित छ”, घरदैलो अभियानमा व्यस्त उहाँले भन्नुभयो ।

– शेरबहादुर सिंह, रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.