एन आर एन न्युज

एनआरएनएको बैंक खाता रोक्का गर्न निवेदन, शर्माद्वारा आधिकारिकताको दावी पेश

विवादै विवादको घेरामा परेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को हालै सम्पन्न राष्ट्रिय सम्मेलनपछि थप विवाद उत्पन्न हुँदै आधिकारिकताको दावी बिरोध सुरु भएको छ ।

हालै सम्पन्न ११ औं महाधिवेशनपछि एनआरएनए पुनः विभाजित भएर तीनचिरा भैसकेको छ । यसअघि १० औं महाधिवेशनमा विभाजित एनआरएनए पुनः विभाजित भएको हो ।

महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका आरके शर्माले डा. बद्री केसी समूहले धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै समानान्तर समिति गठन गर्दै संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् ।

११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।

ती बैंकहरुमा पत्राचार भएको छ भने यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए ।

आइतबार अध्यक्ष शर्मासहितका पदाधिकारीहरु नियमित कार्यसञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश पाएका थिएनन् ।

त्यसपछि उनले सीईओसहितका कर्मचारीहरुसँग छलफल गरेका थिए । सो क्रममा शर्माले संघको नाममा रहेका कुनैपनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन आग्रका सीईओलाई आग्रह गरेका थिए । तर, सो क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी डा बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।

भेटपछि संचारकर्मीहरुसँग कुरा गर्दै शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीहरुको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गरिएको बताए ।

त्यस्तै शर्माले नेतृत्व गरेको एनआरएनए आइसीसीले आधिकारिकताको दाबी गर्दै शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो ।

आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक डकुमेन्टहरु पेश गरेका छन् । आफूहरुले सहसचिव अमृत राईलाई आधिकारिकताको निवेदनअनुसार आवश्यक प्रमाणहरु हस्तान्तरण गरेको भन्दै महासचिव सुवेदीले छिटै फाइल अध्ययन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको बताए ।

अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।

सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो ।

उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.