नेपाली र भारतीय कलाकारहरूको अभिनयमा ‘ह्रस्व दीर्घ’
निर्देशक चन्द्र पन्तले नेपाली र भारतीय कलाकारहरूले अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ ले कला, संस्कृतिसँगै एक आपसमा सामीप्यता बढाउने बताउनुभएको छ ।
चलचित्रको निर्माण प्रारम्भ गर्दा नेपाली कलाकार नै रहे पनि पछि भारतीय कलाकारहरूलाई प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।
“हामीले नेपाली धेरै कलाकारलाई प्रस्ताव गरेका थियौँ । यहाँ सहकार्य नजुटेपछि चलचित्रको बजार विस्तार गर्न भारतीय कलाकारलाई प्रस्ताव गर्यौँ । उहाँहरूले स्वीकार गरेपछि अहिलेको सहकार्य सम्भव भएको हो”, निर्देशक पन्तले भन्नुभयो ।
उहाँले अहिलेसम्म चलचित्र नदेखाइएको विषयमा आफ्नो समूहले कथा तयार गरेर ‘ह्रस्व दीर्घ’ तयार गरेको दावीसमेत गर्नुभयो । उहाँले दुई देशका प्रसिद्ध कलाकारको सहकार्यले नेपाली चलचित्रको बजारलाई दक्षिण भारतमा विस्तार गर्न टेवा पुग्ने विश्वाश व्यक्त गर्नुभयो ।
“हामीले दक्षिण भारतका प्रसिद्ध कलाकारसँग काम गरेका कारण त्यहाँ चलचित्रको चर्चा छ । हामीले छिटै त्यहाँ प्रदर्शनको बारेमा जानकारी दिने छौँ । त्यो चलचित्र उद्योगमा नेपाली चलचित्रको चर्चा भएको सुन्दा खुसी लाग्छ”, निर्देशक पन्तले भन्नुभयो ।
अभिनेत्री विपना थापाले पनि निर्देशक पन्तकै कुरामा सहमति जनाउँदै भारतीय पत्रपत्रिकामा नेपाली चलचित्र चर्चाले आफूलाई हर्षित बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो एउटा सपना नै थियो, कि हाम्रो चलचित्रको विषयमा भारतमा चर्चा होस्, हाम्रो काम र मेहनत त्यहाँका कलाकारले देखुन् र बुझुन्, त्यो यसपटक पूरा भयो । यो चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत भएको नेपाली चलचित्रको प्रवर्द्धन आउँदो समयमा सबैले महसुश गर्नुहुने छ ।”
एउटै नक्षत्र, ग्रह र भाग्य भएका जोडीको सम्बन्ध र उनीहरूका जीवनमा आउने आरोह–अवरोहको कथामा आधारित चलचित्रलाई ज्योतिष हरिहर अधिकारीले लेख्नुभएको हो । उहाँले यो विषय दर्शकलाई रोचक लाग्ने भएकाले आफूले चलचित्रमा ल्याउने आट गरेको बताउनुभयो ।
“यो पूर्णरुपमा ज्योतिषशास्त्रमा आधारित चलचित्र होइन्, तर विषयवस्तुसँग जोडिएको छ । हामीले आफ्नोपन दिन पनि यसमा नेपाली धर्म र संस्कृतिको प्रयोग गरेका छौँ । यद्यपि यो पूर्णरुपमा मनोरञ्जनात्मक चलचित्र हो”, ज्योतिष अधिकारीले भन्नुभयो ।
चलचित्रमा ज्योतिष अधिकारीसँगै अभिनेत्री नीता ढुङ्गाना, गरिमा शर्मा, रेखा थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, सरोज खनाल, रवीन्द्र झासँगै भारतीय कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलगायतले अभिनय गर्नुभएको छ ।
कात्तिक ३० गतेदेखि यो चलचित्र नेपालीसँगै हिन्दी, तेलुगु भाषासमेतमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्