युक्रेन र दक्षिण कोरियाबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग दुई देशबीच सुरक्षा सहयोग सुदृढ पार्ने सहमति भएको बताउनुभएको छ ।
रुसले युक्रेनमा आक्रमण बढाउन हजारौं उत्तर कोरियाली सैनिकलाई रुसमा स्थानान्तरण गरेकोमा युक्रेनका सहयोगीबीच चिन्ता बढ्दै जाँदा दुई देशका शीर्ष नेताबीच टेलिफोन वार्ता भएको हो ।
“हामीले युक्रेनमा रुसी आक्रमणलाई सघाउन उत्तर कोरियाली सैन्य बलको संलग्नताबारे छलफल गर्यौं । निष्कर्ष स्पष्ट छः यो युद्ध अन्तर्राष्ट्रियकरण हुँदै गइरहेको छ, दुई देशभन्दा बाहिर फैलिएको छ”, जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।
यसैबिच राष्ट्रपति युनले उत्तर कोरियाली सेनाको स्थानान्तरणलाई अभूतपूर्व र खतरनाक भनेर वर्णन गर्नुभएको छ ।
जेलेन्स्की र युनले दक्षिण कोरिया र युक्रेनले दुई देशबीचको सुरक्षा सहयोगलाई सुदृढ बनाउन एक अर्काको देशमा प्रतिनिधिमण्डल पठाउने कुरा पुष्टि गर्नुभयो ।
राष्ट्रपति युनले दक्षिण कोरियाले “युक्रेनका जनताका लागि थप सहयोगका उपायहरू खोज्न सहकार्य गर्ने र शान्तिलाई समर्थन गर्न जारी राख्ने बताउनुभएको छ ।
उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई आधिकारिक भ्रमणका लागि रुस आइपुग्नु भएपछि उहाँहरुबीच नेताहरूको टेलिफोन कलको खबर आएको हो ।
प्रतिक्रिया राख्नुहोस्