बिशेषस्वास्थ्य

“आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो”

सिंहदरबार वैद्यखाना सरकारले सक्दैन भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिन बालेनको माग

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले आयुर्वेदिक उपचार पद्धति नेपालीको संस्कार र संस्कृति रहेको भए पनि अहिले यसको अवस्था नाजुक भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

मेयर शाह

आज बुधबार राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताउनुभयो ।

“अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ”, प्रमुख शाहले भन्नुभयो, “९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।”

सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानाका कारण उल्लेख गर्दै उहाँले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो”  ।

नगरप्रमुख साहले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाको व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ । २०५८/५९ सालमा यहाँको बजेट रु पाँच करोड थियो, अहिले एक करोड छ ।”

उहाँले भन्नुभयो, ‘‘सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ । देश जोगाउन सुरुमा यस्तो ठाउँ जोगाउनुपर्छ । सचिवज्यूको एउटा कुरामा म सहमत भएँ, मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्छ । एलोप्याथिक पनि डुबेको छ, आयुर्वेदिक पनि डुबेको छ । वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ । सबै बराबर छ ।’’

उहाँले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौँ महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन पनि माग गर्नुभयो ।

प्रमुख साहले बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधी उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने र सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.