राजनीति

नेकपा समाजवादीको विगतका काम- कलङ्ककी-नौबिसे सुरुङ्ग मार्ग

सत्ता गठबन्धनमा सामेल नवगठित नेकपा एकीकृत समाजवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विगतमा आफ्नो नेतृत्वमा भएका काम भनेर कलङ्ककी नौबिसे सुरुङ्ग मार्गको योजना समेत समेटिएको छ ।

घोषणापत्रमा विभिन्न समयमा हाम्रो नेतृत्वमा भएका कामहरू भनेर गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका, शान्ति स्थापनामा प्रमुख भूमिका, तत्कालीन अनमिनलाई बिदा गर्ने काम राखिएको छ ।

त्यसै गरी पुष्पलाल (मध्यपहाडी) लोक मार्गको सुरुवात, काठमाडौं–निजगढ द्रुत मार्गको सुरुवात, स्थानीय तहमा महिला र उत्पीडित–दलित समुदायको उपस्थिति बढाउने काम, माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको सुरुवात, कलङ्ककी नौबिसे सुरुङ्ग मार्गको योजना, जनता आवास कार्यक्रमलाई समेटिएको छ ।

त्यसै गरी विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा, अन्तर्जातीय विवाहलाई प्रोत्साहन, एकल महिलाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम, महिलामाथि हुने हिंसा नियन्त्रण गर्न प्रहरीमा महिला सेलको स्थापना, अपांगता भएका व्यक्ति लगायतलाई सामाजिक सुरक्षा कार्यक्रम, सुत्केरी भत्ताको व्यवस्था गरिएको घोषणापत्रमा उल्लेख छ ।

सोमबार पार्टी कार्यालयमा सार्वजनिक गरिएको घोषणापत्रमा सो दलले ओलीको कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाइएको छ ।

घोषणापत्रमा केपी शर्मा ओलीले दक्षिणपन्थी अवसरवादको कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको उल्लेख छ ।

सो घोषणापत्रमा झण्डै दुई तिहाई बहुमत भए पनि ओली नेतृत्वको सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको बताइएको छ ।

घोषणापत्रमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता पश्चात् झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको र त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको उल्लेख छ ।

त्यस्तै घोषणापत्रमा ओली सरकारले भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गएको उल्लेख छ ।

त्यसै गरी एमालेबाट बाहिरिएर नयाँ पार्टी गठन गर्नुको कारण ओली र एमालेलाई सुधार्न नसकिएको र पार्टी विभाजनलाई विद्रोहको संज्ञा दिइएको छ ।

यसै गरी पार्टीले जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ । सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरब्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.