जल/वातावरण

जलवायु परिवर्तनमा नेपालको योगदान नरहेको : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रभावकारी ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।

अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकनबाट फर्केपछि पोखरामा पत्रकारसँगको सङ्क्षिप्त साक्षात्कारमा उहाँले जलवायु परिवर्तनको असरबाट नेपाल पनि प्रभावित रहेको भए पनि जलवायु परिवर्तनका कारक तत्वहरुमा नेपाल जस्ता देशको योगदान भने नरहेको उल्लेख गर्नुभयो ।

“विश्वलाई म स्पष्ट रुपमा यो सन्देश दिन चाहन्छु कि प्रकृतिले झेलिरहेको यो सङ्कट रोक्न जरुरी छ”, महासचिव गुटेरेसले भन्नुभयो, “हामीले यी सुन्दर हिमाल, हिमनदी र भूगोललाई जोगाउनै पर्छ, यसमा सबैको सहयोगको खाँचो छ ।”

उहाँले जलवायु परिवर्तनका कारण वातावरणीय सन्तुलन खल्बलिन गई बाढीपहिरालगायत प्राकृतिक विपद्को नकारात्मक असर भोग्न स्थानीयवासी बाध्य हुनु परेको बताउनुभयो ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनको प्रत्यक्ष असर व्यहोरिरहेका नेपाललगायत देशलाई अन्तर्राष्ट्रिय समर्थन चाहिने पनि उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको रक्षाका लागि लचिलोपन निर्माण गर्न र अनुकूलन योजनाका लागि अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ”, महासचिव गुटेरेसले भन्नुभयो ।

यसअघि महासचिव गुटेरेसले अन्नपूर्ण आधार शिविर पुग्नुभएका उहाँले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताउनुभयो । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उहाँले उल्लेख गर्नुभयो ।

विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै उहाँले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्याइरहेको बताउनुभयो ।

धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उहाँले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गर्नुभएको थियो ।

महासचिव गुटेरेस भ्रमण दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहित आधार शिवर पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.