राजनीति

अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ : महासचिव गुटेरेस

सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको नेपाललाई संयुक्त राष्ट्रसङ्घले सघाउने महासचिव एन्टोनियो गुटेरेसले बताउनुभएको छ ।

मंगलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसङ्घले भूमिका खेल्ने बताउनुभएको हो ।

“नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसङ्घले सहयोग गर्नेछ । अहिले नेपालले अल्पविकसित मुलुकहरुको अध्यक्षता गरिरहेकोमा अरु देशका लागि पनि नेपालले चाल्ने कदमको महत्वपूर्ण अर्थ रहन्छ”, उहाँले भन्नुभयो ।

नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्नुहुँदै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । त्यस्तै जलवायु परिवर्तनका असर न्युनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उहाँको भनाइ छ ।

“जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन । संयुक्त राष्ट्रसङ्घले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौं । राष्ट्रसङ्घ सहयोग गर्न तयार छ”, गुटेरेसले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ र नेपालबीच लामो समयदेखिको सम्बन्ध रहेको पनि उहाँले सो अवसरमा उल्लेख गर्नुभयो । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सभाुमख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो । चार दिने नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधारशिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ ।

आइतबार नेपाल आइपुग्नुभएका उहाँले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख राष्ट्रियसभाका अध्यक्षलगायत राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरिसक्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राख्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.