जन सरोकार

चितवनमा पहिलो पटक आमाको नामबाट नागरिकता

चितवन जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो ।

आमाको नामबाट नागरिकता

मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उहाँलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो ।

उपाध्याय परिमार्जित ऐनअनुसार नागरिकता लिने जिल्लामा पहिलो व्यक्ति भएको उहाँले बताउनुभयो । उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गर्नुभएको हो । थापाले ऐनमा भएको संशोधनले नागरिकताको समस्या समाधान भएको बताउनुभयो । स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुने उहाँले बताउनुभयो । कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।

श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको आमा मायादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, “छोरो जन्मिएको एक वर्षपछि छोराको बुबा हराउनुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएन ।” छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.