राजनीति

डब्ल्यूएचओ क्षेत्रीय निर्देशकमा बंगलादेशका प्रधानमन्त्रीकी छोरीसंग प्रतिस्पर्धा गर्दै आचार्य

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा नेपालबाट शम्भुप्रसाद आचार्य बंगलादेशका प्रधानमन्त्रीकी छोरीसंग प्रतिस्पर्धामा हुनुहुन्छ ।

आज (बुधबार) भारतको नयाँ दिल्लीमा हुने डब्ल्यूएचओको दक्षिणपूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो)को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।

नेपालबाट डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य उम्मेदवार हुनुहुन्छ भने बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद मैदानमा उत्रनुभएको छ ।

डब्ल्यूएचओको दक्षिण(पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।

यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् । यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन् ।

म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो ।

यसैबीच १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्दै डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रहरुलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन अपिल गरेका छन् ।

संस्थालाई अनुभवी, प्राविधिक ज्ञानको गहिराई र पूर्वाग्रहविना सबैलाई समान रुपमा सेवा दिन सक्ने तटस्थ क्षेत्रीय निर्देशक चाहिने उल्लेख गर्दै राजनीतिबाट टाढा रहन अपील गरेका हुन् ।

अपीलमा भनिएको छ, ‘संकीर्ण राजनीतिक चालबाजीबाट जोगिएर सबै देशका लागि काम गर्न सक्ने, द्विपक्षीय वाचा र राजनीतिक स्वार्थभन्दा बाहिर जान सक्ने बलियो डब्ल्यूएचओको बारेमा सोच्न आवश्यक छ । यस्तो एक उम्मेदवारको नियुक्ति सुनिश्चित गर्नुहोस् जसले डब्ल्यूएचओलाई बलियो बनाउन, तटस्थता र राम्रो व्यवस्थापनको जनादेश पूरा गर्न ‘एक डब्ल्यूएचओ’को लागि काम गर्न सक्दछ ।’

संयुक्त अपिल जारी गर्नेहरुमा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक डा. कुलचन्द्र गौतम, भारतका पूर्वस्वास्थ्य सचिव सुजाथा राव, सिड्नी विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका सेई अबिम्बोला, डब्ल्यूएचओ सेरोका पूर्व निर्देशक डा. स्वरुप सरकार लगायत छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.