राजनीति

“सहकारी ठगीमा एमालेकै भए पनि कारबाही हुनुपर्छ”

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारीमा वचत रहेको सर्वसाधारणको रकम ठगीमा एमालेकै भए पनि कारबाही हुने बताउनुभएको छ ।

शुक्रबार एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले सहकारीको रकम ठगीमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै भन्नुभयो, ‘दोषी हाम्रै पार्टीभित्रको कोही छ भने पनि ऊ दण्डको भागीदार हुन्छ र हुनुपर्दछ, एमाले यसमा दृढ छ’ ।

उहाँले अगाडि भन्नुभयो, ‘हिजो एमालेलाई फत्तुर लाउनेहरू प्रधानमन्त्री केपी ओलीलाई पशुपतिको जलहरीमा सुन होइन, पित्तल लगाएको भन्नेहरू थिए, यस्ता फत्तुर लाउनेहरू छन्, अनेक खालका कुराहरू गर्छन् । तर हामी तिनीहरूको सामुन्ने ठिङ्ग उभिएर जवाफ दिन तयार छौँ, हामीले गल्ती गर्दैनौँ, गल्ती गर्नेहरूलाई दण्डको भागीदार बनाउछौँ । यो एमालेको अठोट हो’ ।

सहकारी छानबिन समिति बनाउँदा व्यक्ति तोकेर बनाउन नहुने एमालेले अडान लिएको पनि उहाँले स्मरण गराउनुभयो । रास्वपा सभापति रवि लामिछानेकै सहमतिमा सो छानबिन समिति बनेको बताउँदै समितिले छानबिन गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेकाले अहिले सोही सिफारिसको आधारमा लामिछाने पक्राउ पर्नुभएको पनि पोखरेलले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बरालले मुलुकको विकास र राष्ट्रियताको सच्चा पहरेदार एमाले भएकाले देशी, विदेशी तत्त्वहरूबाट पार्टीलाई चौतर्फी प्रहार हुन थाले पनि डटेर सामान गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.