राजनीति

“पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गयो”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएका कारण पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउनुभएको छ ।

अध्यक्ष नेपाल

पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उहाँले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताउनुभयो ।

अहिले कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिष्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै प्रमुख समस्या हो ।”

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिष्ट एकताबद्व भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा दण्डहिनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिष्ट पार्टीले विगतका गरेका कमीकमजोरी स्विकारेर एकीकृत हुनपर्ने विचार व्यक्त गर्नुभयो ।

दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणका लागि मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.