क्रिकेटखेल

टि-२० विश्वकप एसिया छनोट : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा, ओमान पाँच रनले विजयी    

काठमाडौँमा जारी आइसिसी टि-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित हुन पुग्यो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको हो । ओमानको लागि कप्तान जेशन मक्सुदले ३२ रन बनाए भने नसीम खुशीले २५ रन जोड्दा प्रतिक अथाभालेले २४ रन बनाए । त्यस्तै शकिल अहमद २२ रनमा अविजित रहँदा आयन खानले १८ रन जोडे ।

नेपालको लागि करण केसीले ३ विकेट लिए भने  सन्दीप लामिछाने र सोम्पल कामी समान २-२ विकेट लिँदा अभिनाश बोहोरा र गुलसन झाको भागमा समान १-१ विकेट रह्यो । १४६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो ।

निकै रोमाञ्चक बनेको खेलमा नेपाललाई अन्तिम ओभरमा २६ रनको आवश्यकता रहेहोमा क्रिजमा रहेका बिबेक यादवले बिलाल खानलाई तीन छक्क प्रहार गर्दै नेपालको आशा जिवित राखेकका थिए । तर उनी चौथो बलमा आयन खानबाट क्याच हुन पुगेपछि अन्तिम २ बलमा ७ रनको आवश्यकता थियो । यादव आउट भएपछि क्रिजमा आएका अविनाश बोहोराले एक रन लिंदै करण केसीलाई स्ट्राइक दिए तर अन्तिम बलमा उनी कामीउल्लाहाबाट क्याच आउट हुन पुगे ।

नेपालका लागि विवेकले २४ बलमा ३९ रन बनाए भने नेपालका लागि कुशल भुर्तेलले २६, करण केसीले १५, सेमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ तथा कुशल मल्लले १० रन बनाए । ओमानका लागि बिलाल खानले तीन, शकिल अहमद, मेहरान खान र अकिब इल्यासले समान दुई तथा जिशन मक्सुदले एक विकेट लिए ।

हारका बाबजुद नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने ओमान समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लागेको हो । सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । यूएईले बिहीबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङलाई २२ रनले पराजित गरेको हो ।

त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कार्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.