राजनीति

शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन सबै दलबीच सहकार्य जरुरी : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दाङ, घोराही उपमहानगरपालिका–११ जीतपुरस्थित सहिद परिवारसङ्ग बिहीबार भएको भेटमा उहाँले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जाहेर गर्नुभएको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको उहाँको भनाइ थियो । मन्त्री शर्माले महासचिव गुटेरेसले सङ्घीय संसद्मा राखेको धारणा मुलुकका लागि महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउने तयारी भइरहेको बताउँदै उहाँले यसका लागि सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हल गरी नेपालमा स्थायी शान्ति स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका शर्माले सरकारले पहिलो पटक सहिदका नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा सम्मान भएको धारणा राख्नुभयो ।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै उहाँले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिइने बताउनुभयो । भेटमा सहिद परिवारले गाउँको बाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्ति एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.