क्रिकेटखेल

युएईलाई पराजित गर्दै नेपाल टि-२० विश्वकपमा छनोट 

काठमाडौँमा जारी आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई आठ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट भएको छ ।

शुक्रबार मुलपानीको  माथिल्लो मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । युएईको लागि भ्रित अरविन्दले  ६४ रनको अर्धशतकीय पारी खेले भने कप्तान मुहम्मद वासिमले २६ रन बनाए । त्यस्तै अलिशन शराफु १६ रन बनाई आउट भए भने असिफ खानले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालको लागि कुशल मल्ले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिंदा सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलको भागमा समान १-१ विकेट रह्यो ।

१३५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि आसिफ शेखले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित रहँदै ६३ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । त्यस्तै गुलसन झाले २२ र कुशल भुर्तेलले ११ रन जोडे । युएईको लागि बसिल हमिद र निलान्स केस्वानीले समान १-१ विकेट लिए ।

टि-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । नेपालले दोस्रो पटक टि -२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टि-२० विश्वकप खेलेको थियो ।

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् भने समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा पुगेका हुन् । बिहीबार लिग चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.