अमेरिकामा जारी आईसिसी विश्वकप लिग–२ त्रिकोणत्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आइतबार बिहान सम्पन्न भएको खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३७ रनले पराजित भएको हो ।
यसअघि पहिलो खेलमा पनि नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । अमेरिकाको डालसमा रहेको ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएको थियो ।
अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले ७५, कप्तान मोनाक पटेलले ६७ र हर्मित सिंहले ५९ रनको अर्धशतकीय पारी खेले भने आरोन जोन्सले २६ रन जोड्दा सञ्जय कृष्णमूर्तिले १५ रन बनाए ।
नेपालका लागि गुलसन झाले ३ विकेट लिए भने तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिँदा कुशल भुर्तेलको भागमा एक विकेट रह्यो । अमेरिकाले दिएकाे २८२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनमा समेटियो ।
नेपालको लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सोमपाल कामीले ४६ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले २९, कुशल मल्लले ३३, आरिफ शेखले २१ र गुल्सन झाले १२ रन बनाए ।
अमेरिकाका लागि सौरभ नेत्रवालकरले ४ विकेट लिए भने नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान २-२ विकेट लिँदा जसदीप सिंह र हर्मित सिंहको भागमा समान १-१ विकेट रह्यो । जारी सिरिजमा नेपालले तीन् खेलमा दुई हार र एक जित हासिल गरेको छ । नेपालले यसअघि स्कटल्याण्डलाई पराजित गरेको थियो । सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्