अथाह प्राकृतिक स्रोत साधनले सम्पन्न कर्णाली यतिबेला नेपालका निर्धन प्रदेशका रुपमा चिनिए पनि कुनै समय यो क्षेत्र युरोपभन्दा धनी रहेको सुन्दा आश्चर्य लाग्नसक्छ- तर यो वास्तविकता हो ।
कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको दृष्टान्त सार्वजनिक गर्नुभएको छ ।
तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली र धनी राज्य भएको बताउनुभयो । “यो जति समय चल्यो शक्तिशाली राज्य नै थियो । यो पूर्वकाठमाडौँ त्रिशूली नदी, उत्तरमा मानसरोवर, पश्चिममा लद्दाख र दक्षिणमा वाराणसीसम्म फैलिएको थियो”, उहाँले भन्नुभयो ।
मुलुकमा सबैभन्दा राम्रो भाषा खस भएको दाबी गर्दै अध्यक्ष न्यौपानेले आज पूर्वका मान्छे कर्णालीवासीलाई खस भनेर सम्बोधन गर्ने गरेको जनाउनुभयो । तत्कालीन समयमा कर्णालीले काठमाडौँलाई पनि आफ्नो काबुमा राख्ने गरेको इतिहास उल्लेख गर्नुभएको उहाँले भन्नुभयो, “उतिबेला जुम्लाको कला, संस्कृति, साहित्य र वास्तुकला काठमाडौँले सिक्ने गर्दथ्यो तर विसं १८४६ मा गोर्खालीले सिञ्जा राज्यमाथि गरेको आक्रमणले आज कर्णाली निकै पछि परेको छ ।”
उहाँले विश्वका चार सभ्यतामध्ये कर्णाली सभ्यता पनि एक भएको जनाउभयो । संसारको सबैभन्दा शक्तिशाली खस साम्राज्य कर्णाली हो । बाह्रौँ शताब्दीतिर युरोपभन्दा धनी कर्णाली खस सम्राज्यले देशलाई भाषा, संस्कृति र सभ्यता छोडेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “त्यो बेलाको शक्तिशाली कर्णाली खस राज्यले ८०० वर्ष शासन सञ्चालन गरेको थियो । यसले तिब्बतलाई सिक्का बनाउन सिकाउने गर्दथ्यो । कर्णालीको आफ्नै भाषा संस्कृति थियो र अहिले यो मुलुकभरि नै फैलिएको छ ।” उहाँका अनुसार हिजोको दिने कर्णालीलाई राज्यको विभेदकारी नीति र व्यवहारका कारण आज माग्ने जस्तो बनाइएको छ ।
विशेषगरी लाम्रा संवाद दोस्रो संस्करणले तत्कालीन कर्णाली खस राज्य, सिञ्जा सभ्यतादेखिका ओझेलमा परेको संस्कृति, सभ्यता, संस्कार, वेषभूषा, रहनसहन, जीवनशैली र अभ्यासको खोज अनुसन्धान, अन्वेषण, उत्खनन, सम्वद्र्धन र संरक्षणमा सघाउने उहाँको भनाइ थियो ।
संवाद सञ्चालन समितिका संयोजक गुरुप्रसाद चौलागार्इंले कार्यक्रममा विचारको बहस तथा मन्थनअन्तर्गत ‘विद्धत प्रवचन’, ‘हाम्मा नेता, हाम्मो नीति’, ‘सभ्यताको साइनो, आखरको अलङ्कार’, ‘झरोबाट झलमल्ल गाउँ कसरी ?’, ‘कोरोना कैठ र कथाहरु’ र ‘भुसको आगो’ लगायतका विषयमाथि व्यापक छलफल भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको सत्रमा सांस्कृतिक सम्वद्र्धनअन्तर्गत ‘दमाहाको रन्को’, ‘मागलको गुञ्जन’, ‘नाचको छमछम’, ‘स्वरको सङ्गम’ र ‘देउडाको घन्को’ शीर्षकमा बहस संवाद हुनेछ । आयोजक समितिका सदस्य लालप्रसाद चौलागाईंका अनुसार कार्यक्रममा मष्टो प्रथाअन्तर्गत चरण, धारु, ढाल, बालो नाच देखाइने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्