लामिछाने तर्फको बहस सकियो, शुक्रबार सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइने
जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस प्रारम्भ भएको थियो । बिहिबार लामिछानेको तर्फबाट बहस सकिएको छ । उक्त मुद्दामा भोलि शुक्रबार सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ ।
त्यसपछि अदालतले आदेश गर्नेछ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।
संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ)मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् ।
लामिछानेविरुद्ध नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्