अर्थकृषि

मार्सी धान भित्र्याउनुको साटो खेतमै आगो लगाउन परेपछि

पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् ।

ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो ।

धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो ।

उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिनुभयो ।

धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन भएको त्यहाँका किसानको गुनासो थियो । मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार जानुपरेको थिएन पहिलो पटक बजार गएर सेतो चामलको भात खानुपर्ने दिन पनि आयो ।

जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताउनुभयो ।

धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुग्नुभएको थियो । किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उहाँको भनाइ थियो ।

मार्सी धानमा ब्लाष्ट रोगको सङ्क्रमण भएको छ । उन्नत जातको उक्त धानमा यो रोगको खासै समस्या छैन तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ ।

धानको नमूना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषद्मा पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन् कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकामा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । यो वर्ष जिल्लाको कूल धान उत्पादनको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.